जावलाखेल र एनआरटीले अंक बाँडे

काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पाचौं चरणको पहिलो खेलमा जवाखेल युथ क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सोमबार दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै जावलाखेल र एनआरटीले अंक बाँडेका हुन् ।

सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही राम्रो अवसर सदुयोग गर्न सकेनन् । १६ औं मिनेटमा जावलाखेलका ड्याडी जुनियरको पावरफुल प्रहारले पोस्टको दिशा लिन सकेन । २६औं मिनेटमा डाम्बियाको फ्रि हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

यता, ३२ औं मिनेटमा एनआरटीका प्रकाश बुढाथोकीको फ्रिकिकले पनि पोस्ट नजिकैबाट बाहिरियो । ७२ औं मिनेटमा प्रकाश बुढाथोकीकै फ्रिकिक जावलाखेलका गोलरक्षक टेकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे ।

बराबरीसँगै एनआरटी ५ अंकका साथ ८औं स्थानमा उक्लिएको छ । ५ खेलमा उसले २ जित, २ बराबरी र १ हारको सामाना गरेको छ । गत वर्ष लिगको पुछारमा रहेकाले एनआरटीको दुई अंक घटाइएको छ । यस्तै, अपराजित रहेको जावलाखेल युथ क्लब ९ अंकका साथ चौथो स्थानमा छ । उसले २ जित र ३ बराबरी खेलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.