
लिभरपुलले एस्टन भिल्लालाई हरायो, न्युकासल दोस्रो स्थानमा उक्लियो
इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ। सोमबार राति भिल्ला पार्कमा भएको खेलमा लिभरपलले एस्टन भिल्लामाथि ३–१को जित निकाल्यो।
खेलमा लिभरपुलका लागि मोहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफान बासेटिकले गोल गरे।
खेलको पाँचौं मिनेटमै सलाहको गोलमा लिभरपुलले अग्रता लियो। उनले एन्डी रोबट्सनको पासमा गोल गरेका थिए। यो असिस्टसँगै रोबट्सन इपिएलमा सर्वाधिक असिस्ट गर्ने डिफेन्डर बनेका छन्। उनले ५४ असिस्ट गरेका छन्।
३७औं भान डाइकले सलाहका पासमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। ओली वाट्किन्सले ५९औं मिनेटमा गोल गर्दै खेलमा भिल्लालाई फर्काउने प्रयास गरे। उनले डग्लस लुइसको पासमा गोल गरेका थिए।
८१औं स्टेफान बासेटिकले गोल गर्दै लिभरपुललाई ३–१को अवस्थामा ल्याए। १८ वर्ष ६५ दिनका स्पेनिस मिडफिल्डर बासेटिक यो सिजन प्रिमियर लिगमा गोल गर्ने कान्छा खेलाडी हुन्। त्यसपछि गोल नहुँदा लिभपुल विजयी भयो।
यस्तै, लेस्टर सिटीमाथि ३–०को जित निकाल्दै न्युकासल प्रियिमर लिगको दोस्रो स्थानमा उक्लिएको छ। प्रिमियर लिग इतिहासमा न्युकास दोस्रो स्थानमा पुगेको यो पहिलो पटक हो।
खेलको तेस्रो मिनेटमा क्रिस उडले पेनाल्टीमा गोल गर्दै न्युकासललाई सुरुआती अग्रता दिलाएका थिए। सातौं मिनेटमा मिगुएल अल्मिरोनले गोलमा गर्दै न्युकासलले २–० को अग्रता लियो।
त्यसपछि खेलको ३२औं मिनेटमा जोलिन्टनले गोल गर्दै न्युकासललाई ३–० को अग्रता दिलाए। त्यसपछि गोल नहुँदा न्युकासल विजयी भयो।
यस जितसँगै न्युकासल लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसले १६ खेलमा ३३ अंक जोडेको छ। लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा छ । यता, जितपछि लिभरपुल १५ खेलबाट २५ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा उक्लेको छ।
लिगकै अन्य खेलमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१ तथा फुलहमले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेको छ ।