पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको सेरिफसँग हार्‍यो रियल

पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको माल्दोभाको क्लब सेरिफसँग च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा सेफिरले रियललाई उसकै मैदानमा २–१ हरायो।

रियलविरुद्ध सेरिफलाई जित दिलाउन जासुर्वेक याहक्सिबोभ र सेवास्टियन थिलले गोल गरे भने रियलका करिम बेन्जिमाले गोल गरेका थिए।

बर्नाबेउमा सुरुआती अग्रता सेरिफले लियो । २५औं मिनेटमा याहक्सिबोभले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफ १–०मै सकियो ।

६५औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई खेलमा फर्काए । भिनिसियस जुनियरलाई डिबक्समा लगाएपछि प्राप्त पेनाल्टीमा बेन्जिमाले गोल गरेका थिए। तर, ८९औं मिनेटमा थिलले डिबक्स बाहिरबाट भलीमा उत्कृष्ट गोल गर्दै टिमलाई जित दिलाए ।

यो जितसँगै सेरिफ समूह डीको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा सख्तर डोनेस्कलाई पराजित गरेको सेरिफको ६ अंक भएको छ। तीन अंकसहित रियल दोस्रो स्थानमा छ।

खेलमा रियलले अधिकांश समय सेरिफलाई दबाब राखे पनि रियलले थप गोल गर्न सकेन । रियलका थुप्रै प्रहारलाई सेरिफका किपरले उत्कृष्ट बचाउ गरेका थिए। खेलमा ७६ प्रशति बल पोजेसन बनाएको रियलले सेरिफको पोस्टमा ३१ सट प्रहार गरेको थियो, जसमध्ये ११ सट फ्रेममा थियो। यता, सेरिफले ४ सट प्रहार गरेकोमा ३ सट फ्रेममा थियो।

Facebook Comments Box