नेमार घाइते भएको खेलमा ब्राजिल पराजित, मेसीको गोलमा अर्जेन्टिनाको जित

18 Oct, 2023

सन् २०२६मा हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ। बुधबार बिहान भएको खेलमा ब्राजिल उरुग्वेसँग २–०ले पराजित भयो।

खेलमा ४२औं मिनेटमा डार्विन नुनेजको गोलमा उरुग्वेले सुरुआती अग्रता लिएको थियो। पहिलो हाफकै इन्जुरी समयमा नेमार घाइते हुँदै मैदान छाड्न बाध्य भए। उनलाई स्टेचरमा हालेर मैदान बाहिर निकालिएको थियो।

त्यसपछि ७७औं मिनेटमा निकोलस डे ला क्रुजले उरुग्वेको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहृुँदा ब्राजिल २–०ले पराजित भयो। विश्वकप छनोटमा ब्राजिलको पहिलो हार हो।

यता, मेसीको कीर्तिमानी गोल मद्दतमा अर्जेन्टिना विजयी भएको छ। मेसीले २ गोल गरेको खेलमा अर्जेन्टिनाले पेरुमाथि २–०को जित निकाल्यो।

खेलमा मेसीले ३२औं मिनेटमा गोल गर्दै अर्जेन्टिलाई अग्रता दिलाए। यो गोलसँगै मेसी विश्वकपको दक्षिण अमेरिकी छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यो गोलसँगै उनले २९ गोल गरेका उरुग्वेका लुइस सुआरेजको कीर्तिमान तोडेका हुन्।

उनले ४२औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै २–०को अग्रता दिलाए। दोस्रो हाफमा थप गोल नहुँदा अर्जेन्टिना २–०ले विजयी भयो।

यस्तै, अन्य खेलमा पाराग्वेले बोलिभियालाई १–०ले हराउँदा कोलम्बिया र इक्वेडरले गोलरहित बराबरी खेले।

दक्षिण अमेरिकी छनोटमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना १२ अंकसहित शीर्ष स्थानमा छ। ब्राजिलललाई हराएको उरुग्वे ७ अंकसहित दोस्रो स्थानमा रहँदा समान ७ अंक जोडेका ब्राजिल र भेनेजुएला तेस्रो र चौथो स्थानमा छन्।

कोलम्बिया ६ अंकसहित पाँचौं स्थानमा छ भने समान ४ अंक जोडेका इक्वेडर, पाराग्वे र चिली छैठौं, सातौं र आठौं स्थानमा छन्। १ अंक मात्र जोडेको पेरु नवौं र अंकबिहीन बोलिभिया पुछारमा छ।