नेमारले गरे दुई गोल, तर रोकियो पिएसजी

फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा ब्राजिलियन स्टार स्ट्राइकर नेमारले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे । तर उनको टिम पिएसजी जित निकाल्न असफल भयो । आइतबार राति भएको खेलमा पिएसजी आफ्नै मैदानमा मोनाकोसँग ३–३ गोलको बराबरीमा रोकियो ।

डिफेन्स कमजोर हुँदा २ पटक लिएको अग्रता जोगाउन नसक्दा पिएसजी जितबाट बञ्चित भयो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीका लागि नेयमारले दुई गोल गरे । पीएसजीले अर्को गोल मोनाकोबाट उपहार पाएको थियो । मोनाकोका गिल्सन मार्टिन्स, विसाम वेन इडर र इस्लाम स्लिमानीले गोल गरे ।

नेयमारले खेलको तेस्रो मिनेटमै पिएसजीलाई अग्रता दिलाए । सातांै मिनेटमा मार्टिन्सले गोल गर्दै खेललाई बराबरीमा ल्याए । १३औं मिनेटमा वेन इडरले गोल गर्दै मोनाकोलाई अग्रता दिलाए । २४औं मिनेटमा फोडे बालोले आफ्नै पोस्टमा गोल गरेपछि खेल २–२ को बराबरीमा आयो ।

४२औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए । ७०औं मिनेटमा मोनाकोका इस्लाम स्लिमानीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

बराबरीपछि पनि पिएसजी शीर्ष स्थानमै छ । उसले १९ खेलमा ४६ अंक जोडेको छ । ४१ अंकका साथ मार्सेली दोस्रो स्थानमा छ भने ३३ अंक जोडेको रेनेस तेस्रो स्थानमा छ । मोनाको भने २९ अंक जोड्दै आठौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.