विराटनगर एफसीका प्रशिक्षक र फिजियो आईलिगमा आबद्ध

प्रशिक्षक निशान श्रेष्ठ र फिजियो अनिश बुढाथोकी भारतको आईलिग क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबमा आवद्ध भएका छन् । पञ्जाब फुटबल क्लब पहिले मिनेर्वा पञ्जाबको नामबाट आईलिगमा सहभागी हुने गरेको थियो।

प्रशिक्षक श्रेष्ठ पञ्जाबको सिनियर टिमको सहायक प्रशिक्षकका रुपमा पञ्जाबमा आबद्ध भएका हुन्।

यसअघि श्रेष्ठले ए डिभिजनको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबमा सहायक प्रशिक्षकको रुपमा काम गरेका थिए। नेपाल सुपर लिग (एनएसएल) मा भने उनी विराटनगर एफसीको सहायक प्रशिक्षक थिए।

यस्तै, बुढाथोकीले पञ्जाब क्लबको फिजियोका रुपमा काम गर्नेछन्। यसअघि उनले ए डिभिजनको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीको फिजियोका रुपमा काम गरिसकेका छन्। एनएसएलमा भने उनी पनि विराटनगर एफसीमै फिजियोका रुपमा आबद्ध थिए।

पञ्जाबसँगको सम्झौतालाई अन्तिम रुपमा दिन श्रेष्ठ र बुढाथोकी दुवैजना हाल पन्जाब पुगिसकेका छन् । केही दिनमै सम्झौतामा सहमती हुने र औपचारिक हस्ताक्षर गरिने उनीहरुले बताएका छन्।

Facebook Comments Box