आधा दर्जन गोल भएको खेलमा एनआरटी र एपिएफले खेले बराबरी

सहिद स्मारक ए डिभिजन लिगको छैठौं चरणको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र विभागीय टिम एपिएफले बराबरी खेलेका छन् । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा एनआरटी र एपिएफले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

रोमाञ्चक खेलमा एनआटीका दर्शन गुरुङले २ गोल गरे भने अर्को गोल मेसुके ओलेमोउले गरे। एपिएफका आशिष लामा, दिपेश धिमाल र नवीन लामाले गोल गरेका थिए । खेलमा पहिलो हाफमा २ र दोस्रो हाफमा ४ गोल भएको थियो । खेलमा २ पटकको अग्रता जोगाउन नसक्दा एनआरटी अंक बाँड्न बाध्य भयो।

एनआरटीले ३२औं मिनेटमा दर्शन गुरुङले गोल अग्रता लियो । दर्शनले मेसुके ओलोमोउको क्रसमा हेडमार्फत टिमलाई अग्रता दिलाएका थिए। ३७औं मिनेटमा एपिएफले बराबरी गोल फर्कायो । एपिएफका आशिष लामाले प्रदीप लामाको क्रसमा हेडमार्फत गोल गरेका थिए।

४८औं मिनेटमा दर्शनले दोस्रो गोल गर्दै खेलमा एनआरटीलाई पुनः अग्रता दिलाए । उनले रन्जन विष्टको पासमा गोल गरेका थिए। ६१औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटीले ३–१को अग्रता लियो। स्टेफन बिनोङको पासमा गोल गरेका थिए ।

६५औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए। उनले नवीन लामाको फ्रिकिकमा हेडिङमा गोल गरेका थिए। त्यसपछि ६९औं मिनेटमा नवीन लामाले गोल गर्दै खेललाई ३–३ को अवस्थामा ल्याए।

यस बराबरीसँगै ६ खेलमा ७ अंक जोडेको एनआरटी छैठौं स्थाना छ भने ५ अंक जोडेको एपीएफ ११औं स्थानमा छ ।

Facebook Comments Box