
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक, फुटबल र क्रिकेट हाबी
एनएसजेएफ पल्सर स्पोर्टर््स अवार्डको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रमुख चार विधाको मनोनयन सार्वजनिक गरेको हो।
अघिल्ला संस्करणहरुमा जस्तै यो संस्करणको मनोनयनमा पनि फुटबल र क्रिकेटकै वर्चश्व छ। यो वर्ष फुटबल र क्रिकेटका धेरै प्रतियोगिता भएकाले पनि मनोनयनमा फुटबल र क्रिकेटकै वर्चश्व भएको हो।
मंगलबार एनएसजेफले सार्वजनिक गरेको मनोनयनमा उत्कृष्ट वर्ष खेलाडीका लागि फुटबलका अन्जन विष्ट र कप्तान किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा सो वर्ष ब्याडमिन्टन जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुगेका प्रिन्स दाहाल छन् । फुटबलका अन्जन पिपुल्स च्वाइस अवार्डमा पनि मनोनयनमा छन् ।
उत्कृष्ट महिला वर्ष खेलाडीको मनोनयनमा क्रिकेटकी कप्तान रुविना क्षेत्री र सीता रानामगर, बक्सिङकी पसनम रावल, एथलेटिक्सकी पुष्पा भण्डारी र भलिबलकी कप्तान अरुणा शाही छन् ।
त्यस्तै युवा वर्ष खेलाडी अवार्डका लागि फुटबलका प्रिती राई र मनिष डाँगी, ब्याडमिन्टनकी रशिला महर्जन, बक्सिङका छिरिङ वाङदी शेर्पा र भलिबलकी उषा भण्डारी मनोनयनमा छन् । उषा पिपुल्स च्वाइस अवार्डमा पनि मनोनयनमा परेकी छन् ।
वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पनि फुटबल, क्रिकेट र भलिबलकै प्रशिक्षकहरु छन् । फुटबलका तत्कालीन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र क्रिकेटका तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर, महिला भलिबल प्रशिक्षक जगदीश भट्ट, बक्सिङ प्रशिक्षक दीपक महर्जन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।
२३ फागुनमा प्रज्ञा भवनमा हुने अवार्ड समारोहमा ९ विधामा अवार्ड दिइनेछ । वर्ष उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्डका विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्।
उत्कृष्ट पाराएथ्लिट सम्मान, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले नगद ५० हजार रुपैयाँ पाउनेछन् । एसियन स्पोर्टस जर्नलिष्ट अवार्डका रुपमा एकजना पत्रकारलाई पनि सम्मान गरिनेछ ।