
एन्फा अध्यक्ष भन्छन्– अहिले तयारीमा चुक्यौं, अर्काे पटक राम्रो तयारी गरेर भारतलाई हराउँछौं
यू–२० साफ च्याम्पियनसिप खेल स्वदेश फर्किएको नेपाली फुबटल टिमलाई स्वागत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले तयारीमा चुक्दा टिम असफल भएको बताएका छन्।
उपाधि जित्ने लक्ष्यसहित भुवनेश्वर पुगेको नेपाली टिम फाइनल पुग्न असफल भएको थियो। नेपालले लिग चरणका ४ मध्ये ३ जित र समान १ हार र बराबरी खेलेको थियो।
प्रतियोगितामा माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–०ले हराउँदा नेपालले भारतसँग ८०को लज्जास्पद हार बेहोर्न बाध्य भएको थियो । अन्तिम खेलमा बंगलादेशसँग नेपालले १–१ गोलको बरारबी खेलेको थियो।
अध्यक्ष नेम्वाङले साफ च्याम्पियनजस्तो प्रतियोगिताका लागि टिमको तयारीको समय कम भएका हुँदा अपेक्षाकृत नतिजा आउन नसकेको बताए । उनले खुला प्रतिस्पर्धाबाट टिम छनोट गरेर ४० दिन मात्र अभ्यास गर्नु अपर्याप्त भएको स्वीकार गरे।
‘हामीले धेरै अगाडिदेखि बन्द प्रशिक्षण राख्नुपर्ने थियो, त्यसमा चुकेका हौं,’ अध्यक्ष नेम्वाङले भने, ‘६ हप्तामा देशैभरिबाट खेलाडी निकालेर खेल्न पठाउनु नै हाम्रो कमी कमजोरी हो।’
अध्यक्ष नेम्वाङले तयारीमा कमजोरी भएको स्वीकार गर्दै नेपाली टिमको नतिजाप्रति भने सन्तोष व्यक्त गर्दै पर्याप्त तयारी गरेर अर्को पटक भारतलाई हराउने पनि दाबी गरे।