
नेपाली फुटबललाई अगाडि बढाउन मेराे उम्मेदवारी : नेम्वाङ
वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्। शुक्रबार ललितपुरस्थित होटल हिमालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेम्वाङले उम्मेदवारी घोषणा गरेका थिए।
त्यसपछि उनले सातदोबाटेस्थित एन्फा मुख्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। एन्फा निर्वाचन कमिटिका सदस्यसचिव बद्री भट्टराईका अनुसार सदस्य पदका लागि सुर्खेतका रवीन्द्र चन्द, जुम्लाका अध्यक्ष भरत बुड थपा र मोरङका दीपेन्द्र धिमालले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यता, बाँकेका भोजराज शाही र कैलालीका अनिल मल्लले पनि सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। तर, आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका वीरबहादुर खड्काले भने शुक्रबार उम्मेदवारी दर्ता गराएका छैनन्।
वर्तमान एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले उम्मेदवारी दर्तापछि आयोजित पत्रकार सम्मेलनमा नेपाली फुटबललाई अगाडि बढाउन नै उम्मेदवारी दर्ता दिएको बताएका छन् । ‘लामो समयदेखि परिवर्तनका लागि समूह एकता र आर्थिक पारदर्शितालगायत मुद्दा उठायौँ, तर क्षणमै हरायो,’ पत्रकार सम्मेलनमा नेम्वाङले भने, ‘वर्तमान अध्यक्षले चार उपाध्यक्षलाई चारतिर, १२ सदस्यलाई १२ तिर पुर्याउनुभयो ।’ पत्रकार सम्मेलनमा नेम्वाङले शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि पोखे ।
वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्वाङले शेर्पाको चारवर्षे कार्यकालमा आर्थिक अनियमिततादेखि प्रतिबन्धसम्म भएको खुलासा गरेका छन् । ‘यो चार वर्षमा एन्फाभित्र आर्थिक अनियमितता चरममा पुगेको छ, उनले भने, ‘नरेन्द्र श्रेष्ठ (दाइ)को समयमा किन प्रतिबन्ध लगाइएन ? अहिले किन आर्थिक प्रतिबन्ध लाग्यो ।’ एन्फाभित्र चरम आर्थिक अनियमितता भएका कारण नै आर्थिक प्रतिबन्ध लागेको नेम्वाङको भनाइ छ ।
‘झन्डै तीन करोड रुपैयाँ एक कम्पनीले लगेको छ, त्यो नेपाललाई दिने ग्रान्टबाट काटिएको छ,’ उनले भने, ‘हामीले हिजोका दिनमा एन्फाभित्र पारदर्शिता र भ्रष्टाचारलाई शून्य सहनशीलता नारा लगाएका थियौँ, यो चार वर्षमा यसको कार्यान्वयन हुँदै भएन ।’