बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६बाटै बाहिरियो, समग्रमा पिएसजीसँग ५–२ले पराजित

स्पेनिस जाइन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । अन्तिम १६को दोस्रो लेगमा पिएसजीसँग १–१को बराबरी खेले पनि समग्रमा ५–२ले पराजित हुँदै बार्सिलोना अन्तिम १६बाटै बाहिरिएको हो।

पहिलो लिगमा पिएसजीले ४–१ ले विजयी भएको थियो। दोस्रो लेगमा पुनरागमनका लागि बार्सिलोनालाई ४–० को जित आवश्यक थियो । तर, दोस्रो लेग १–१ को बराबरीमा सकियो र बार्सिलोना १४ वर्षपछि अन्तिम १६मै रोकियो। बार्सिलोना सन् २००६–०७ पछि पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्न असफल भएको हो ।

घरेलु मैदानमा भएको दोस्रो लिगमा किलिएन एमबाप्पेले ३१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेसीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाले अग्रता लिने अवसर पाए पनि गुमायो । एन्टोनियो ग्रीजम्यानलाई पिएसजीका कुर्जावाले फउल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो, तर मेसीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

मेसीको प्रहार पिएसजीका गोलकिपर केलर नाभासले बचाऊ गरेका थिए । सन् २०१५ पछि मेसीले पहिलो पटक च्याम्पियन्स लिगमा पेनाल्टीमा गोल गर्न नसकेका हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.