
महान फुटबलर पेलेको निधन
सर्वकालिन महान फुटबलर पेलेको निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित ब्राजिलियन खलाडी पेलेको ८२ वर्षको उमेरमा बिहीकार राति उपचारकै क्रममा निधन भएको हो।
सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् । उनी तीन पटक विश्वकप जित्ने एक्ला खेलाडी हुन्।
सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका पेलेले १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेका थिए ।
१७ वर्षको उमेरमै फुटबल स्टार बनेका पेलेकै बलमा सन् १९५८ मा ब्राजिलले पहिलो पटक विश्वकप जितेको थियो। क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाए ।
१५ वर्षको उमेरमा सान्तोषबाट फुटबल करिअर सुरु गरेका उनले डेब्यू खेलमै गोल गरेका थिए।
उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वर्ल्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।