पेले कसरी १७ वर्षमै स्टार बने ?

Read Time:19 Minute

महान फुबटलर पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । चार विश्वकप खेल्दै उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।

१७ वर्षमै स्टार बनेका पेलेले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे। ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन्। पेले कसरी १७ वर्ष विश्व फुटबलका स्टार बने ? उनकै बायोग्राफी ‘माई लाइफ एन्ड द ब्युटिफुल गेम’को अनुवादित अंश :

मैले व्यावसायिक फुटबल करिअर ब्राजिलकै सान्तोस क्लबबाट थालेको थिएँ । भिला बेल्मिरो घुम्न आएको स्विडेनको एआईके क्लबविरुद्ध खेल्न मेरा प्रशिक्षक लुलाले मलाई पहिलोपटक सान्तोसको प्रथम टोलीमा संलग्न गराएका थिए । जिटो, पेपे र अन्यसँग खेल मैदानमा दगुरिरहँदा मैले अनौठो महसुस गरें । खासमा यो अन्य अभ्यास खेलजस्तै लाग्यो ।

१५ जुन १९५८ गोटेवर्ग, स्विडेनको न्या उल्लेभी रंगशाला चिच्याइरहेका रसियाली दर्शकले भरिपूर्ण थियो । उनीहरू सोभियत संघले भिडन्तको तेस्रो खेलमा ब्राजिललाई ध्वस्त पारी जुल्स रिमेट ट्रफी ९विश्वकप० जितेको हेर्न आएका थिए । रसियनहरूको खेल हेर्न विश्वभरिका पत्रकार पनि उत्सुक थिए । रसियनले पहिलो पटक विश्वकपमा प्रवेश पाए पनि सबै उनीहरू जितेको हेर्न चाहन्थे ।

ब्राजिलले पनि जित्न सक्छ भन्ने कसैले सोचेकै थिएनन् । पहिलो खेलमा हामीले अस्ट्रियालाई एकविरुद्ध तीन गोलले पराजित गरेको सत्य हो । त्यति सजिलै जित्न पाएकोमा हामी भाग्यमानी थियौं, तर कमजोर इङ्लिस टोलीसँग गोलरहित बराबरीमा खेल टुंग्याउन सक्यौं । रुसी टोलीमा लेभ यासिन, नेट्टो र सिमोनियन खेलाडी भएकाले हाम्रा लागि त्यो फलामको च्युरा साबित हुने विश्वास गरिएको थियो । दुवै टोलीका खेलाडी दौडेर खेल मैदानमा आउँदा विशाल भीडले ब्राजिली खेलाडीबीच कालो वर्णको दुब्लो सानो केटालाई हेरिरह्यो । उसले ठूलो दस नम्बर लेखिएको पहेँलो टिसर्ट लगाइरहेको थियो । त्यो सानो केटो म थिएँ– पेले ।

त्यो सानो केटोलाई विश्वकपमा खेल्न अनुमति दिइएकामा केही दर्शक निकै रिसाइरहेका थिए । अन्यलाई चाहिँ मज्जा लागिरहेको थियो किनकि पूरै ब्राजिली टोली कलिलै थियो भन्ने सबैलाई थाहा थियो । जब मैले खेल मैदानमा आफ्नो स्थान लिएँ, यी सबै सत्य हुन् भन्ने पत्याउन गाह्रो परिरहेको थियो । म स्विडेनमा ब्राजिलको टोलीमा, रुसविरुद्ध विश्वकपको महत्त्वपूर्ण खेल खेल्दै छु भन्ने कुरा सपना मात्रै हुन सक्थ्यो । विश्वास गर्न सकिरहेको थिइनँ ।

सम्झना छ, विश्वकप खेल्न ब्राजिली टोलीमा मलाई छनोट गरिएको त्यो शनिबारको दिन थियो । म करिब एक वर्षदेखि सान्तोसका लागि खेलिरहेको थिएँ । र, राम्रो खेलिरहेको थिएँ । वास्तवमा साओ पाउलो राज्यभरिमा बत्तीस गोल गरी उच्च गोलकर्ता भएको थिएँ, तर स्विडेन जाने टोलीमा छनोट हुन्छु भन्ने मैले वास्तवमै सोचेको थिइनँ । त्यसबेला म सोह्र वर्षको मात्रै थिएँ । त्यतिबेला ब्राजिलमा धेरै अनुभवी र खतरनाक खेलाडीको कमी थिएन ।

त्यो दिन रेडियोमार्फत विश्वकपमा सामेल हुने खेलाडीको नामावली प्रसारण हुने दिन थियो । म बाउरुमा परिवारकहाँ घुम्न गइरहेको थिएँ । सबै घरमै हुनुहुन्थ्यो, म निहुरिएर रेडियो सुनिरहेको थिएँ । मेरो नाम प्रसारण हुनेछैन भन्ने मलाई थाहा थियो । तर, रेडियोको एउटा शब्द पनि छुटाउन चाहन्नथें । यदि नामावलीमा मेरो नाम नभए म रुनेछैन र भित्तामा टाउको ठोकाउने छैन भन्नेमा दृढ निश्चिन्त थिएँ । मेरो नाम पनि हुन सक्छ भन्ने निश्चय नभए पनि विश्वकप टोलीमा पर्छु कि भन्ने झिनो आशा त गर्न सक्थें, सक्दिनँ त रु नाम पढ्न सुरु भयो । मुटुको धड्कन बेतोडले बढ्न थाल्यो, सोच्नुस् त त्योबेला मेरो हाल कस्तो भयो होला रु

कास्टिल्हो… गिल्मर… दिजाल्मा सान्तोस… निल्टन सान्तोस… माज्जोला… पेले… उक्त सूची पुनः नदोहोर्‍याएसम्म यो सत्य थियो भन्ने मैले विश्वासै गर्न सकिनँ ।

आमा दौडेर मेरो कोठामा आउनुभयो र मलाई हेर्नुभयो– ‘तिमीलाई के भयो दिको रु सन्चो छैन कि क्या हो रु’ ‘आमा, म ब्राजिलको टोलीमा तालिमका लागि छनोट भएँ ।’ ‘खै तिम्रो निधार छाम्न देऊ,’ दोना सेलेस्टेले भन्नुभयो, ‘तिमी सन्चो देखिएका छैनौ ।’

सूचीमा परेका अरू खेलाडीसँग महिनौंसम्म तालिम लिइसकेपछि पनि म स्विडेन जान पाउनेमा निश्चिन्त थिइनँ । हामी सबैलाई सैतानलाई जस्तै तालिम दिइएको थियो र घोडाले जत्तिकै कडा परिश्रम गर्नुपर्थ्यो । टोलीको जीवनका लागि हामीले व्यक्तिगत जीवनको पर्वाह गरेका थिएनौं र हामी परिवारजस्तै बसेका थियौं । उक्त परिवारमा केही आघात पर्न गइरहेको थियो किनकि केवल बाइस जना खेलाडी स्विडेन जान पाउने थिए र हाम्रा प्रशिक्षक भिसेन्टे फिओलाले कुन–कुन खेलाडीको टोलीले सबभन्दा राम्रो तरिकाले खेल्न सक्छ भन्ने निर्णय गर्नुपर्थ्यो ।

डाक्टर पाउलो मचाडो दी कार्वाल्हो ९ब्राजिली टोलीका व्यवस्थापक० ले हामी सबैलाई बोलाउनुभयो र टोलीमा छनोट नभएका खेलाडीको सूची पढ्न थाल्नुभयो । मेरो नाम लिइएन । एकै छिनका लागि मलाई आश्चर्य लाग्यो र टोलीमा बाँकी रहेका खेलाडीको नाम एकपल्ट पढिदिए हुन्थ्योजस्तो लाग्यो । त्यसपछि म साँच्चिकै टोलीमा छनोट भएको महसुस गरेँ । कति खुसी भएँ भन्ने व्याख्या गर्न सक्दिनँ, तर जब मैले ती हटाएका नाम हेरें मेरो सोचाइमा परिवर्तन आयो । तिनीहरूमध्ये धेरैजसो रुन थालेपछि, तिनीहरू घर फर्किन बस चढ्दा हामीमध्ये कसैलाई पनि कसरी बिदाइ गर्ने भन्ने साहस आएन, मुटु ढक्क फुलेर आयो ।

तर, मेरो आफ्नो समस्या सुरु भयो । स्विडेनका लागि उड्नु केही दिनअघि साओ पाउलोको कोरिन्थियान्सविरुद्धको अभ्यास खेलमा मलाई छिर्की हानियो र घुँडामा चोट लागेको थियो । अनि खेल मैदान छाड्नुपरेको थियो । केही दिनपछि टोलीको डाक्टर, डा। गोस्लिङ र मारियो अमेरिकोले मेरो घुँडाका लागि बलबुताले भ्याएसम्म सक्दो प्रयास गर्नुभयो । युरोपका लागि उडेको हवाइजहाजमा म पनि थिएँ । इटालीको इन्टरनेजिओनेल र फिओरेन्टिनाविरुद्धको दुइटा मैत्रीपूर्ण खेलमा हामीले जित्यौं । पूरै टोली एउटा ठूलो सुखी परिवारजस्तै थियो । घुँडाको चोट निको नभएकाले मचाहिँ निराश हुँदै गएको थिएँ ।

स्विडेनका लागि इटालीबाट उड्नुअघि मैले डा। गोस्लिङकहाँ गएर सोधें– ‘मलाई किन ब्राजिलमा फिर्ता पठाउँदैनौ रु जसले गर्दा मेरो ठाउँमा अर्को खेलाडी ल्याउन सकियोस् ।’ म खेल्न सक्षम हुन्छु भन्ने उहाँलाई अझै विश्वास थियो । इटालियालीहरूसँगको खेलमा पेपे र डीडीहरूको घुँडामा पनि चोट पुग्यो । प्रत्येक दिन मारियो अमेरिको हाम्रा आँखाबाट धरधरी आँसु बग्नेगरी घुँडावरिपरि तातो पानीमा डुबाइएको रुमाल कसिलो तरिकाले बेर्थे । प्रत्येक दिन डाक्टर मेरो घुँडा जाँच्थे र राम्रो हुँदै आएको जनाउ दिन्थे ।

तर, जब अस्ट्रियाविरुद्धको पहिलो विश्वकप खेल आयो, म अझै खेल्न असमर्थ थिएँ । इङ्ल्यान्डविरुद्धको खेलमा खेल्न अनुमति पाइनँ र त्यसपछि मैले पूरै आस मारिसकेको थिएँ । तर, एक दिन डा। गोस्लिङले मलाई जाँचिसकेपछि भन्नुभयो, ‘तिमी खेल्न सक्छौ ।’ त्यो मेरो लागि शुभ दिन साबित भयो ।

रुसमाथिको विजय

म अहिले खेल मैदानमा छु । रुसी खेलाडी त्यही मैदानमा हाम्रो विपक्षमा उभिइरहेका थिए । निश्चय पनि यो सपना थिएन । तिनीहरूका प्रत्येक खेलाडी हामीभन्दा अग्ला देखिन्थे । गोलरक्षक यासिन त पूरै गोलपोस्ट ढाकिरहेका देखिन्थे । म सोच्थेँ उसलाई छक्याई गोलपोस्टभित्र बल छिराउनु असम्भवै छ । अग्रपंक्तिमा मलगायत जगालो, भाभा, डीडी र गरिन्चा थियौं । मध्यपंक्तिमा निल्टन सान्तोस र जिटो । पछाडि रक्षापंक्तिमा हाम्रो क्याप्टेन बेलिनी, ओर्ल्यान्डो, दी सौर्दी र गोलरक्षकमा गिल्मर ।

‘ठीक छ,’ जिटो सकेसम्म चर्को स्वरले कराए, ‘तिनीहरूलाई छक्क पारौं है ।’ उसको पछाडि बसेका भाभाले केही नबुझेझैं ओठ लेप्राए, ‘तिमीले के भन्न खोजेको रु’ उनले भने, ‘तिनीहरू हामीलाई हराउन गइरहेछन् ।’

तर जब सिठ्ठी बज्यो, मैले यी सबै ठट्टा बिर्सें, सबै चेतना गुमाएँ, सबथोक । थाहा भएअनुसार, म राम्रो खेल खेलिरहेको थिएँ, जुन मैले अपेक्षा गरेको थिएँ र जित्नु नै सबै कुरा थियो । केही मिनेटपछि गरिन्चाले रुसी रक्षापंक्तिको कमजोरी भेट्टाए । उनले तीन जना रक्षापंक्तिका खेलाडीलाई तिनीहरू त्यहाँ नभएझैं गरी छलेर लगे र यासिनलाई नाघ्ने गरी कराएर प्रहार गरे । जसै म गोल ऽऽऽ।।। भनेर ठूलो स्वरले कराएँ, बल बारमा ठोक्किएर खेल मैदानमै फर्कियो ।

रुसीहरूका लागि यो खेल त्यति सजिलो छैन भन्ने दर्शकले तुरुन्तै महसुस गरे । तिनीहरूमध्ये केही अब हाम्रो पक्षमा कराइरहेका थिए । त्यो दिन गरिन्चाले तिनीहरूलाई धेरै पटक चिच्याउने अवसर प्रदान गरे । यही खेलकै लागि जिन्दगीभर पर्खिरहेजस्तो गरी उनी खेलिरहेका थिए । उसका अगाडि रुसी रक्षापंक्ति लाचार भइरहेको थियो ।

त्यसपछि डीडीले एउटा सुन्दर पास मतिर दियो । मैले दुई रक्षकबीच बल दौडाएर लगें । मैले तेज गतिमा दौडिँदादौडिँदै प्रहार गरें र यासिन छक्क पर्‍यो । फेरि एक पटक बल बारमा ठोक्कियो । मेरो घुँडा दुख्न सुरु भए पनि यसबारे चिन्ता लिने फुर्सद थिएन । डीडीको खुट्टामा फेरि बल आयो । म खाली ठाउँमा गई उसको पास पर्खिरहें, तर डीडीले मेरो नजिक पछाडिपट्टि रुसी रक्षक देखे ।

अतः बललाई भाभा दौडिरहेको अर्को साइडतिर पास दिने प्रयास गरेँ, जहाँ कोही रुसी खेलाडी थिएनन् । र, भाभाले बललाई जालीभित्र छिरायो । यसरी मध्यान्तरसम्म ब्राजिलले एक गोलले अग्रता लियो । मध्यान्तरपछि त्यस्तै किसिमले खेल चलिरह्यो, तर खेल सकिनु केहीक्षण अगाडिसम्म यासिनले हाम्रा अधिकांश प्रहार रोके । यसै क्रममा डीडीले बल पाएपछि मतिरै सीधै पास दियो । मैले गोलपोस्टतिर लगिरहेका बेला रुसी रक्षकहरू चारैतिरबाट मतिर आए । तर, फेरि मैले भाभा एक्लै देखें, त्यसैले उसलाई पास दिएँ । त्यसपछि जे गर्नु थियो उसैले गर्‍यो । यसरी ब्राजिल दुई – रुस शून्य भयो ।

उक्त भव्य विजयपछिको रात म खाटमा पल्टिएँ र पूरै खेल सम्झें, प्रहारमाथि प्रहार, छिर्कीमाथि छिर्की, मैले गोल गर्ने धेरै अवसर गुमाएँ, तर नराम्रोचाहिँ खेलिनँ । बाउरुमा छाएको उत्साहको लहर सम्झिन खोजें । सबै सडकमा निस्के होलान् । पेलेबारे कुरा गरिरहेका होलान् । त्यही केटोबारे, जसलाई हाम्रो गल्लीको सडकबत्ती (ल्याम्पपोस्ट) को सिसा फुटाउनाले हालसालै सजाय दिइएको थियो । तर, मलाई थाहा छ, आज बाउरुका साथै अन्य धेरै ठाउँमा मानिसहरू मेरैबारे कुरा गरिरहेका होलान् । वेल्सविरुद्धको क्वार्टरफाइनलअघि मलाई पत्रकारहरूले एक क्षण पनि एक्लो छाडेनन् । रुसमाथिको विजयपछि हामीलाई विश्व खेलजगत्मा गम्भीरतापूर्वक लिन थालियो र पत्रकारहरूले प्रतियोगिताको सबभन्दा कान्छो खेलाडीप्रति विशेष अभिरुचि देखाए । तर, मेरो विचारमा पत्रकारहरूले हाम्रो निकै प्रशंसा गर्न थाले र हामी बढी मात्तियौं ।

वेल्ससँगको खेल केही पनि होइन, खाली सेमिफाइनलका लागि साधारण तयारी हो भन्ने सोचर हामी फेरि न्या उल्लेभी रंगशालामा फर्कियौं । मध्यान्तरका बेला ड्रेसिङ रुममा हामीले धेरै गल्ती गरेको निर्क्योल गर्‍यौं । हाम्रा प्रशिक्षकले हामीलाई भन्नुभयो– ‘हामीसँग पूर्ण आत्मविश्वास भएकाले हामी मध्यान्तरपछिको खेलमा जित्नेछौं ।’ तर, उहाँहरूमध्ये कसैले पनि हामीलाई वेल्सको फलामजस्तो रक्षापंक्ति कसरी तोड्ने बताउन सक्नुभएन ।

खेल मैदानमा फर्किंदा हाम्रो आत्मविश्वास हराउन थाल्यो । जति खरो रूपमा उत्रन्थ्यौं, त्यति नै धेरै गोलका अवसरह गुमाइरहेका थियौं । हाम्रो प्रहार रोक्न, समाउन, बारमाथि धकेलेर पठाउन केल्से ९वेल्स गोलरक्षक० जहाँतहीँ छाउँथ्यो । समय

सकिनै लागेको थियो । खेलको ६६ औं मिनेटमा डीडीले वेल्सको पेनाल्टी क्षेत्रभित्र बल पुर्‍यायो । म अगाडि दौडिँदा उसले मलाई पास दियो । मैले प्रहार गर्न खोजें, तर कसैले छेक्न आयो । मैले बललाई हल्का छोई रक्षकलाई छलाई मेरो बलबुताले भ्याएसम्म प्रहार गरें । मैले प्रहार गरेको बल केल्सेले लडेर रोक्न खोजेको देख्दा मलाई दुःख लाग्यो, तर बल रक्षकको खुट्टामा ठोक्किएर गोलरक्षकलाई नाघेर बिस्तारै जालीभित्र गुल्टिएर पस्यो ।

त्यसपछि गो…ल ऽऽ भनेर बहुलाजस्तै म कति पटक उफ्रिएँ, कराएँ मलाई थाहै भएन । म बच्चाजस्तै रोइरहेको थिएँ । जे भए पनि मैले गरेको उक्त गोल एकदमै भाग्यमानी साबित भयो, जुन म कहिल्यै बिर्सनेछैन । हाम्रो टोलीका लागि त्यो गोल साह्रै महत्त्वपूर्ण थियो । यसरी हामी विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयौं । फ्रान्सविरुद्धको सेमिफाइनलमा मैले ह्याट्रिक गर्न सफल भएँ । र, फाइनलमा आयोजक स्विडेनलाई दुईविरुद्ध पाँच गोलले पाखा लगाई १९५८ मा पहिलोचोटि विश्व च्याम्पियन बन्यौं ।

Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
13 %
Sleepy
Sleepy
0 %
Angry
Angry
13 %
Surprise
Surprise
0 %
Previous post महान फुटबलर पेलेको निधन
Next post गम्भीर कार दुर्घटनामा परे क्रिकेटर ऋषव पन्त, अवस्था खतरा मुक्त
Close