चितवनमाथि पोखराको रोमाञ्चक जित, पोखराका प्लेअफ आशा जिवितै, बहिरियो चिवतन

राजधानीमा जारी नेपाल सुपर लिगकाे लिग रचणको आफ्नो अन्तिम खेलमा पोखरा थन्डर्सले रोमाञ्चक जित निकालेकाे छ। शुक्रबार साँझ दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनविरुद्ध अन्तिम १० मिनेटमा २ गोल गर्दै पोखराले रोमाञ्चक जित निकालेको छ।

यो जितसँगै पोखराले प्लेअफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ भने पराजित हुँदै चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ। जितपिछि पोखराका ८ अंक भएको छ, र उ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शनिबार हुने दोस्रो खेलमा बुटबल लुम्बिनी एफसी धनगढी एफसीसँग पराजित भए वा बराबरीमा रोकिए पोखरा प्लेअफ पुग्ने छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चितवन पराजित भएको हो। पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले गोल गरे भने चितवनका शिशिर लेखीले गोल गरेका थिए ।

खेलका सुरुआती अग्रता चितवनले लियो । ७२औं मिनेटमा शिशिर लेखिले गोल गर्दै चितवनलाई अग्रता दिलाए।

खेलको ८२ औं मिनेटमा चितवन १० खेलाडीमा समेटियो । त्यो नै खेलको टर्निङ प्वाइन्ट रह्यो । गोलकिपर विशाल सुनारले डिबक्स बाहिर हातले बोल छोएपछि उनले रातो कार्ड पाए भने पोखराले फ्रिकिक पायो । सोही फ्रिकिकमा नवयुग श्रेष्ठले गोल गर्दै पोखरालाई खेलामा फर्काए ।

खेलको इन्जुरी समयको पाँचौं मिनेटमा रिमगागोले गोल गर्दै पोखरालाई २–१ को महत्वपूर्ण जित दिलाए । उनले रबि पासवानको पासमा उत्कृष्ट गोल गरेका थिए ।

खेलमा पोखराका रवि पासवान प्लेयर अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयर अफ दि म्याच चितवनका शिशिर लेखी भए ।

Facebook Comments Box