रोनाल्डो पोर्चुगललाई जिताउन असफल, जर्मनीविरुद्धको हारमा बने थुप्रै खराब रेकर्ड

डिफेन्डिङ च्याम्पियन पोर्चुगल जारी युरोकप २०२० मा जर्मनीसँग पराजित भएको छ। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले खेलको १५औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएपनि विजयी बनाउन भने सकेनन्।

समूह एफ अन्तर्गत समूह चरणको दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग २–४ ले पराजित भएको हो। खेलमा अग्रता लिएको पोर्चुगल दुई आत्मघाती गोलका कारण जर्मनीलाई खेल सुम्पिन वाध्य भएको थियो।

१५औं मिनेटमा पोर्चुगलले लिएको अग्रता थप २५ मिनेट पनि टिक्न सकेन। ३५औं मिनेट र ३९औं मिनेट गरि ४ मिनेट भित्र दुई आत्मघाती गोल गर्दै पोर्चुगलले जर्मनीलाई अग्रता सुम्पेको थियो। बल क्लियर गर्ने क्रममा क्रमशः रुबेन डियास र रफाएल गुएरेरोले आत्मघाती गोल गरेपछि जर्मनीले अग्रता लिएको हो।

यसैगरी, काइ हाभट्र््जले ५१औं तथा म्यान अफ द म्याच रोबिन गोजेन्सले ६०औं मिनेटमा गोल गर्दै खेलमा जर्मनीको पकड बलियो बनाएका थिए। रोनाल्डोको एसिस्टमा डिओगो जोटाले ६७औं मिनेटमा पोर्चुगलका लागि गोल थपे पनि त्यो हार टार्न पर्याप्त भएन।

जर्मनीविरुद्ध पराजित हुनेक्रममा पोर्चुगलले विभिन्न खराब रेकर्ड कायम गरेको छ। पोर्चुगल युरोकपको एकै खेलमा दुई आत्मघाती गोल गर्ने पहिलो टिम बन्यो। साथै, पोर्चुगल विश्वकप र युरोकपमा दुई आत्मघाती गोल गर्ने टिम पनि बनेको छ।

यस्तै, पोर्चुगल युरोकपमा ४ गोल खाने पहिलो डिफेन्डिङ च्याम्पियन पनि बनेको छ। पोर्चुगलले आजसम्म प्रतिस्पर्धात्मक खेलमा ४ गोल खाएको यो केबल दोस्रोपटक हो। यसअघि २०१४ को विश्वकपमा उसले जर्मनीसँगै ४ गोल खाएको थियो।

जितसँगै २ खेलमा ३ अंक जोडेको जर्मनी समूह ‘एफ’को अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा भने २ खेलमा ४ अंक जोड्न सफल फ्रान्सले कब्जा जमाएको छ। पहिलो खेलमा जर्मनीलाई १–० ले पराजित गरेको फ्रान्स दोस्रो खेलमा भने हंगेरीसँग १–१ को बराबरीमा रोकिएको थियो।

हारपछि पोर्चुगल तेस्रो स्थानमा झरेको छ। दुई खेलमा समान ३ अंक र समान १ गोलअन्तर भएपछि हे–टु–हेडका आधारमा पोर्चुगल तेस्रो भएको हो। चौथो स्थानमा रहेको हंगेरीको भने २ खेलमा १ अंकमात्र छ।

Facebook Comments Box