क्लब फुटबलफुटबल

रोनाल्डोले जापानमा पिएसजीविरुद्ध खेल्ने

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पुनः फ्रेन्च क्लब पिएसजीविरुद्ध खेल्ने भएका छन्। साउदी अरेबियामा व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले जापानमा पिएसजीविरुद्ध खेल्ने भएका हुन्।

प्रि सिपन टुरका क्रममा जापानमा पिएसजी र अल नासरबीच मैत्रीपूर्ण खेल हुने भएसँगै यसैवर्ष दोस्रो पटक रोनाल्डोले पिएसजीसँग खेल्ने पक्का भएको छ।

यसअघि गत जनवरी १९मा अल नासरले घरेलु मैदानमै पिएसजीसँग मैत्रीपूर्ण खेल खेलेका थियो सो खेल पिएसजीले ५–४ले जितेको थियो। रोनाल्डो गत जनवरीमा मात्र कीर्तिमानी मूल्यमा अल नासरमा आबद्ध भएका थिए।

पिएसजी र अल नासरबीचको मैत्रीपूर्ण खेलमा जापानको ओसाकासिथत नागइ रंगशालामा जुलाई २५मा हुनेछ।

तर, यो खेलमा स्टार खेलाडीहरु लियोनल मेसी, सर्जियो रामोस नहुने निश्चित छ भने सम्भवतः नेमार पनि हुनेछैनन्। मेसी र रामोसले क्लब छाडने घोषणा गरिसकेका छन् भने नेमारले क्लब छाड्ने चर्चा छ, तर घोषणा भने भइसकेको छैन।

नेमारले पिएसजी नछाडे पनि उनी प्रि सिजन टुरमा उपलब्ध हुन्छन् हुँदैनन् भन्ने टुंगो लागेको छैन। उनी चोटका कारण अहिले मैदान बाहिर छन्।