
मेसी, नेमार र एम्बाप्पेको गोलमा पिएसजीको जित, घाइते भए नेमार
स्टार खेलाडीहरु लियोनल मेसी, नेमार जुयनियर र किलियन एम्बाप्पेले गोल गरेपछि लिग वानमा पिएसजी विजयी भएको छ। तीन खेलाडीले गोल गरेको खेलमा पिएसजीले लिलमाथि ४–३को जित निकाल्यो।
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा लिओनल मेसीले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानमा लिलमाथि अविश्वसनीय जित हात पारेको छ।
लिलका बाफोडे डियाकिटे, जोनाथन डेभिड र जोनाथन बाम्बाले गोल गरेपछि पिएसजी ३–२ ले पछि परेको थियो। एमबाप्पेले ११ र नेइमारले १७ मिनेटमा गोल गर्दा पिएसजीले सुरुवातमै २–० अग्रता लिएको थियो।
एमबाप्पेले ८७ औं मिनेटमा दोस्रो गोल गर्दै पिएसजीलाई जितको आशा जगाए। त्यतिबेला खेल ३–३ को बराबरीमा पुगेको थियो।त्यसपछि मेस्सीले २२ यार्ड फ्रिकिकमा उत्कृष्ट गोल गरेपछि पिएसजीले नाटकीय शैलीमा जित्यो।
ब्राजिलका फरवार्ड नेइमार घाइते हुँदा पिएसजीले जित निकाले पनि चिन्ता थापिएको छ। पहिलो हाफमा गोल गरेका ३१ वर्षीय नेइमारको दोस्रो हाफको पाँच मिनेटमा दाहिने खुट्टामा समस्या देखिएको थियो।
पिएसजीले नेइमारको खुट्टामा गम्भीर चोट नलागेको बताएको छ भने ४८ घन्टामा थप परीक्षण आवश्यक भएको बताएको छ।
आगामी मार्च ८ मा च्याम्पियन्स लिगको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग भिड्नुअघि उनी फिट हुने आशा गरिएको छ। पहिलो लेगमा पिएसजी १–० ले पराजित भएको थियो।
पिएसजी फ्रेन्च लिगमा २४ खेलबाट ५७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको मार्सेको ५२ अंक छ।