भ्यालेन्सियासँग हार्‍यो बार्सिलोना

स्पोनिस जाइन्ट बार्सिलोना ला लिगामा भ्यालेन्सियासँग पारजित भएको छ । शनिबार राति भ्यालेन्सियाको मैदानमा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग २–०ले स्तब्ध भयो ।

भ्यालेन्सियाको जितमा म्याक्सी गोमेजले दुवै गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमै भ्यालेन्सियाले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । जेरार्ड पिकेले जेसे गायालाई डिबक्समा लडाएपछि भ्यालेन्सियाले पेनाल्टी पाएको थियो । तर, गोमेजको सो प्रहार बार्सिलोनाका किपर मार्क आन्द्रे टेरस्टेगनले बचाए ।

दोस्रो हाफको सुरुवातमै भ्यालेन्सियाले अग्रता लियो । ४८औं मिनेटमा गोमेजले गोल गरेका थिए । ७७औं मिनेटमा फेरान टोरेसको पासमा गोमेजले गोल गर्दै भ्यालेन्सिायको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन नसक्दा बार्सिलोना २–०ले पारजित भयो ।

खेलमा बार्सिलोनाले केही राम्रा अवसर खेर फालेको थियो । उसका लियोनल मेसीका ४ उत्कृष्ट प्रहार भ्यालेन्सियाका किपरले रोकेका थिए । खेलमा बार्सिलोनाले ७४ प्रतिशत बल पोजेसन बनाउँदै भ्यालेन्सियाको पोस्टमा १४ सट प्रहार गरेकोमा ५ सट टार्गेटमा थियो । यता, भ्यालेन्सियाले ८ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो ।

हारपछि पनि बार्सिलोना शीर्ष स्थानमै छ । उसको २१ खेलमा ४३ अंक छ भने २० खेलमा ४३ अंक नै जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ । समान ३५ अंक जोडेका एट्लेटिको मड्रिड र सेभिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने भ्यालेन्यिसा ३४ अंकका साथ पाचौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.