वेम्बलीमा जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

तीन पटकको युरो च्याम्पियन जर्मनीलाई वेम्लबीमा पहिलो पटक हराउँदै इंग्ल्यान्ड युराकपको क्वार्टरफाइनदमा प्रवेश गरेको छ। मंगलबार राति वेम्बलीमा भएको खेलमा दोस्रो हाफमा २ गोल गर्दै जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि स्वीडेन र युक्रेनबीचका विजेतासँग खेल्ने छ।

जर्मनीविरुद्ध वेम्बलीमा पहिलो जित दिलाउने क्रममा इंग्ल्यान्डका रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल गरेको थियो।

७५औं मिनेटमा स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाए । उनले ज्याक ग्रेलिसको पासमा गोल गरेका थिए। जारी युरोकपमा स्टर्लिङको तेस्रो गोल हो।

८६औं मिनेटमा ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्डले अग्रता दोब्बर बनायो । केनले पनि ग्रेलिसकै पासमा गोल गरेका थिए । इंग्लिस कप्तान केनको यो युरोकपमा पहिलो गोल हो।

खेलमा जर्मनीले पनि केही राम्रा अवसर गुमायो । पहिलो हाफमा टिमो वर्नरले वान टु वानमा गोल गर्न सकेनन् । उनको प्रहार इंग्ल्यान्डका किपर जोर्डन प्लिकफर्डले रोके । यस्तै दोस्रो हाफको सुरुआतमै काइ हार्भट्जको उत्कृष्ट प्रहारमा पनि प्लिकफर्ड नै बाधक बने । यस्तै, थोमस मुलरले पनि सुनौलो अवसर गुमाए । वान टु वानको अवस्था उनको प्रहार बाहिरिएको थियो।

Facebook Comments Box