रियल मड्रिड छाडेर पिएसजी पुगे लेजेन्डरी डिफेन्डर रामोस

रियल मड्रिड तथा स्पेनका लेजेन्ड डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका छन् । १६ वर्ष रियलमा बिताएका रामोसले २ साताअघि रियल छाडेको घोषणा गरेका थिए भने आज पिएसजी गएको बताएका छन्।

फेसबुकमा फोटो अपलोड गर्दै रामोसले पिएसजीमा आबद्ध भएको घोषणा गरेका हुन्। हिजो रामोस र उनको सपरिवार स्पेनको एक विमानस्थलमा देखिएका थिए। मिडियामा उनी पेरिस जान लागेको आँकलन भइरहँदा आज उनले पिएसजीमा आबद्ध भएको घोषणा गर्दै त्यसको पुष्टि गरेका छन्।

पिएसजीले रामोसलाई फ्रि टान्सफरमा अनुबन्धन गरेको हो। यसअघि पिएसजीले लिभरपुलका डच मिडफिल्डर जर्जिनियो विज्नालडमलाई पनि फ्रि ट्रान्सफरमै अनुबन्धन गरेको थियो।

३० जुनमा रियलसँगको रामोसको सम्झौता सकिएको थियो । रामोस रियलमा बस्ने चाहेपनि क्लबले सम्झौता नवीकरणमा चासो देखाएको थिएन।

सन् २००५ मा सेभियाबाट रियल मड्रिड पुगेका रामोसले त्यहाँ १६ वर्ष बिताए । रामोसले रियलका लागि ६७१ खेल खेल्दै १०१ गोल गरेका छन् भने ४० असिस्ट समेत गरेका छन् । उनी करिअरमा १ सय बढी गोल गर्न एकमात्र डिफेन्डर हुन्।

रामोस डिफेन्डरका रुपमा क्लब र राष्ट्रका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्। रामोसले १६ वर्ष रियलमा बिताउँदा २२ उपाधि जितेका छन्। जसमा ५ ला लिगा, ४ च्याम्पियन्स लिग, ४ स्पेनिस सुपर कप, ३ यूईएफए सुपर कप र क्लब विश्वकप तथा २ कोपा डेल उपाधि छन्।

Facebook Comments Box