
ला लिगामा मड्रिडका दुई क्लबको जित
स्पेनिस ला लिगमा मड्रिडका दुई क्लब रियल र एट्लेटिकोले सहज जित हात पारेको छ। शनिबार राति भएको खेलमा रियलले सेल्टाभिगोमाथि २–१को जित निकाल्दा एट्लेटिकोले अलाभेसलाई ४–१ले हरायो।
सेल्टाभिगोमा माथि रियललाई जित दिलाउन दुवै गोल करिम बेन्जिमाले गरे भने सेल्टाभिगोका नोलिटोले एक गोल फर्काए। खेलको १९औं मिनेटमा बेन्जिमाको पेनाल्टीबाट रियलले सुरुवाती अग्रता लिएको थियो। इडर मिलिटाओलाई सेल्टाभिगोका नलिटोले लडाएपछि रियलले पेनाल्टी पाएको थियो।
५२औं मिनेटमा नोलिटोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ६४औं मिनेटमा बेन्जिमा पेनाल्टीमा गोल गर्न चुके। रोड्रिगोमाथि मुरिल्लोले फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा बेन्जेमाको पेनाल्टीलाई डिटुरोले बचाए।
७०औं मिनेटमा बेन्जेमाले पेनाल्टीमै गोल गर्दै रियलको जित पक्का गरे। पेनाल्टी बक्समा केभिन भाज्क्वेजले फर्लान मेन्डीलाई फउल गरेपछि रेफ्रीले रियललाइै एकै खेलमा तेस्रो पेनाल्टी प्रदान गर्दा यसपटक बेन्जेमा चुकेनन्।
यसैगरी एट्लेटिकालाई सहज जित दिलाउन जोआ फेलिक्स र लुइस सुआरेजले समान १ गोल गरे । यता, अलाभेसका गोन्जालो इस्कालेन्टेले गोल गरेका थिए। खेलमा पहिलो हाफमा १ र दोस्रो हाफमा ४ गोल भएको थियो।
११औं मिनेटमा फेलिक्सको गोलमा एट्लेटिकोले अग्रता लियो। ६२औं मिनेटमा इस्कालेन्टेले गोल गदैृ खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि अन्तिम १५ मिनेटमा ३ गोल थप्दै एट्लेटिकोले सहज जित निकाल्यो ।
७५औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए। ८१औं मिनेटमा फेलिक्सले गोल गरेपछि एट्लेटिकोले ३–१को अग्रता लियो । ९०औं मिनेटमा सुआरेजले गोल गरेपछि एट्लेटिकोले सहज जित निकाल्यो।
जितसँगै शीर्षस्थानमा रहेको रियलको ३० खेलबाट ६९ अंक पुगेको छ। रियलले दोस्रो र तेस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई १२ अंकले पछि पारेको छ। सेभिया र एट्लेटिकोको समान ५७ अंक छ।