च्याम्पियन्स लिग खेल्दै गर्दा जितेका सबै मेडल चोरी भएपछि…

चेल्सीका राइटब्याक १४ सेप्टेम्बरमा चेल्सीको टिमबाट च्याम्पियन्स लिगअन्तर्गत जेनिट सेन्ट पिटर्सबर्गविरुद्ध खेल्दै थिए। चेल्सी गत सिजनको च्याम्पियन्स लिगको विजेता हो। चेल्सीले युरोपको च्याम्पियन बन्दै शानदार ट्रफी जित्दा रिस जेम्ससहित सबै खेलाडीले विजेताको पदक पनि पाएका थिए।

जेनिटविरुद्धको सो खेलमा चेल्सीले १–० को जित निकाल्दै यो सिजनको च्याम्पियन्स लिगमा पनि सुखद् सुरुवात गर्दै टाइटल डिफेन्ड गर्ने यात्रा थालनी गरेको थियो। चेल्सीका खेलाडी र फ्यान सबै उत्साहित र खुशी थिए।

रिस जेम्स पनि खेल सकाएर खुशी हुँदै घर फर्किए। पहिलो जितसँगै यो सिजन पनि युरोपको च्याम्पियन बनेर ट्रफी र मेडल जित्ने कल्पना गर्दै थिए होला।

तर, जब उनी नयाँ मेडल जित्ने कल्पना गर्दै घर पुगे, उनले गत सिजन जितेका मेडल नै थिएनन्। च्याम्पियन्स लिगको मेडल मात्र होइन, युरोकप २०२० मा इंग्ल्यान्डलाई पुर्याउँदै उनले उपविजेतका मेडल समेत जितेका थिए, त्यो मेडल पनि थिएन। न त थियो चेल्सीबाट जितेको सुपर कपको मेडल।

उनले आफ्ना मेडलहरु एउटा बलियो ‘सेफ’मा राख्ने गरेका थिए। उनको घरको गेट भत्किएको थियो भने घरमा भएको मेडल राख्ने सेफ नै गायब थियो।

उनले तत्काल सिसीटिभी हेरे। सिसीटिभीमा चारजना व्यक्ति मिलेर उनको घरमा छिरेर ट्रफी राख्ने बाकस नै चोरेको देखियो। रिस जेम्स नयाँ मेडल जित्नका लागि मैदानमा दौडिरहँदा चोरहरुले उनले यसअघि जितेका सबै मेडल चोरीदिए।

‘म च्याम्पियन्स लिग खेल्न गएको बेला कायर लुटेराहरुको झुण्ड मेरो घरमा घुसेछन्। भारी भएपनि उनीहरुले मिलेर मेरो मूल्यवान चिजहरु राख्ने सेफ कारमा राखेर चोरी गरेछन्। मैले घरमा गरगहनाहरु राख्ने गरेको छैन। तर, उनीहरुले सेफमा राखेको च्याम्पियन्स लिग विजेताको मेडल, युरोकप उपविजेताको मेडल र सुपरकप विजेताको मेडल चोरेर लगेका छन्,’ जेम्सले सेफ चोरीरहेको चारवटा सिसीटिभी फुटेज अपलोड गर्दै इन्स्टाग्राममा लेखेका छन्।

‘ति मेडलहरु मैले चेल्सी र इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै जितेको थिएँ। उनीहरुले भौतिक रुपमा त मेरा मेडल चोर्न सक्छन्, तर मैले जितेका उपाधि खोस्न सक्दैनन्। मसँग अब मेरो जित साबित गर्न भौतिक मेडलहरु नभएपनि खेलेर पाएको सम्मान मबाट कसैले लैजान सक्दैन।’

इन्स्टामार्फत् उनले चेल्सी तथा इंग्ल्यान्डका फ्यानहरुलाई ति चोर पत्ता लगाउन सहयोग गर्न पनि अपिल गरेका छन्। उनीहरुका विरुद्ध अन्य सबुत पनि फेला परेको भन्दै जेम्सले पानी मुनि गएपनि नछाड्ने समेत बताएका छन्।

हाल लण्डन प्रहरीले जेम्सका मेडल चोरको खोजि कार्य तीव्र बनाएको छ। चोरीको समयमा घरमा अरु कोही पनि नभएकाले कुनै किसीमको हताहति भने भएन।

Facebook Comments Box