अन्तर्राष्ट्रिय फुटबलफुटबल

इटालीलाई युरोकप जिताएका मान्सिनी बने साउदीको मुख्य प्रशिक्षक

इटालीलाई सन् २०२०को युरोकप उपाधि दिलाएका प्रशिक्षक रोबर्टो मासिन्सी साउदी अरेबियाको मुख्य प्रशिक्षक बनेका छन्। दुई साताअघि मात्र इटालियन टिम छाडेका मान्सिनी साउदीको मुख्य प्रशिक्षक बनेका छन्।

मान्सिनीले साउदी अरेबियासँग सन् २०२७ सम्मको सम्झौता गरेका छन्। मान्सिनीले सेप्टेम्बर ९ मा कोस्टारिकाविरुद्ध खेल्दै साउदीको प्रशिक्ष यात्रााको थालनी गर्ने छन्।

‘नयाँ देशमा र विशेष गरी एसियामा फुटबलको विकास हुँदै गरेको देशमा प्रशिक्षण गर्न पाउनु मेरो लागि राम्रो अवसर हो भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन्, ‘साउदी प्रो लिगमा उच्चस्तरका खेलाडीको उपस्थितिले यहाँको राष्ट्रिय फुटबल विकासको सम्भावनालाई दर्साउँछ।’

गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपमा हर्भ रेनार्डको प्रशिक्षणमा साउदीले अर्जेन्टिनालाई २–१ ले हराउँदै सनसनी मच्चाएको थियो। पछिल्लो समय साउदीले फुटबलमा ठूलो लगानी गरिरहेको छ। त्यही अनुरुप राष्ट्रिय टिमलाई पनि बलियो बनाउन उसले मान्सिनीलाई ल्याएको हो।

५८ वर्षीय मान्सिनीको प्रशिक्षणमा इटालीले कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा कायम राखेको थियो। कतार विश्वकपमा भने इटाली छनोट हुन सकेको थिए।

मान्सिनीले म्यान्चेस्टर सिटी, इन्टर मिलान, लाजियो, फियोरेन्टिना, गालातासरोजस्ता क्लबको प्रशिक्षकका रुपमा काम गरेका छन्। राष्ट्रिय टिमलाई उनले ६० प्रतिशतभन्दा बढी खेल जिताएका छन् भने क्लब फुटबलमा उनको जित प्रतिशत ५० प्रतिशत बढी छ।