नेपाली टिमलाई शुभकामना दिँदै रोहितले भने– म जाकार्तामा भएपनि मेरो मन र मस्तिष्क दशरथ रंगशालामै हुनेछ

नेपालले आज घरेलु मैदानमा भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ। साँझ ५ः३० बजे हुने मैत्रीपूर्ण खेलका लागि दुवै टिम तयार भइसकेको छन्। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग २ मैत्रीपूर्ण खेल खेल्दैछ।

भारतविरुद्ध नेपाली टिम ६ वर्षपछि घरेलु मैदानमा उत्रँदा नेपाली टिमका सबैभन्दा सफल र महत्वपूर्ण खेलाडी रोहित चन्द भने टिममा हुने छैनन्। इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका चन्द यतिवेला जाकार्तामै छन्। इन्डोनेसियाको लिग सुरु भएकाले रोहित २ साताअघि मात्र इन्डोनेसिया गएका थिए। त्यसैले उनले भारतविरुद्धका दुवै मैत्रीपूर्ण खेल गुमाएका छन्।

जाकार्तामा रहेका रोहितले भारतविरुद्धको खेलमा उपस्थित हुन नपाउँदा आफू निकै दुःखी भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रोहितले आफू भौतिकरुपमा नेपालमा नभएपनि मन र मस्तिष्क नेपालमा हुने बतएका छन्।

रोहितले लेखका छन्, ‘भारतविरुद्धको खेलका लागि चाहेर पनि उपस्थित हुन नसकेकोमा एकदमै दुःखित छु। भौतिकरूपमा जाकार्तामा रहे पनि मेरो मन–मष्तिस्क दशरथ रंगशालामा नै हुनेछ।’ रोहितले भारतविरुद्ध बिहीबार हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमलाई अग्रिम शुभकामना पनि दिएका छन् ।

रोहितले कोरोनाका अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियमका कारण प्राविधिक रुपमा नेपाल आउन सम्भव नभएको बताएका छन्। उनले यो विषयमा यसअघि नै एन्फालाई जानकारी गराइसकेको पनि उल्लेख गरेका छन्।

‘नेपाल आएको अवस्थामा मेरो १६ दिन त्यसै ‘लस’ हुने अवस्थामा थियो। त्यसैले यो समयमा आफूलाई तयारी राख्दै प्रतिस्पर्धामा निखाँरिने मेरो योजना हो,’ रोहितले भने, ‘किनभने आगामी महिना हुने साफ च्याम्पियनसिपका लागि तयारी महत्वपूर्ण छ।’

कोभिड–१९ महामारीकाबीच घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनु नेपाल टिम र नेपाली समर्थकका लागि सुखद् पक्ष भएको रोहितले स्टाटसमा लेखेका छन्। उनले भारतविरुद्धको खेलले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाललाई फाइदा पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।

Facebook Comments Box