रोनाल्डोको जर्सी १२ घण्टामा बिक्रि भएर नयाँ रेकर्ड, सबैतिर सर्टेज

डेडलाइन डेमा क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड फर्किएको आधिकारिक घोषणा भएसँगै विश्व फुटबल तरंगित भएको थियो। रोनाल्डोको ट्रान्सफरले ल्याएको त्यो तरंगको प्रभाव दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ।

रोनाल्डो युनाइटेडमा फर्किएपनि उनले कुन जर्सी लगाउने भन्ने विषय टुंगो लागिसकेको थिएन। रोनाल्डोको ट्रेडमार्क ७ नम्बरे जर्सी युनाइटेडमा एडिसनमा काभानीले लगाइरहेका थिए। तर, काभानी रोनाल्डोका लागि ७ नम्बर छाड्न तयार भए। लगत्तै युनाइटेडले रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने पक्का भएको घोषणा गर्दै उनको नाम र नम्बर अंकित जर्सी बिक्रिमा राख्यो। जर्सी बिक्रिमा राखेसँगै सुरु भयो नयाँ तहल्का।

रोनाल्डोको ७ नम्बरे जर्सी बिक्रिमा राखेको १२ घण्टामै अनलाइनबाट सबैभन्दा छिटो बिक्रि भएको जर्सी बन्यो। त्यसका साथै रोनाल्डो प्रिमियर लिगमा यो सिजन सबैभन्दा बढी जर्सी किनिएका खेलाडी पनि बनेका छन्। र, उनको नाम तथा नम्बर लेखिएको जर्सी अनलाइनमा मात्र होइन पसलहरुमा पनि सर्टेज भएको छ।

इंग्ल्यान्डमा जर्सी बिक्रिको तथ्यांक राख्ने लभ द सेल्स डटकमले रोनाल्डो यो सिजन सबैभन्दा बढी जर्सी किनिएको खेलाडी बनेको बताएको हो। उसका अनुसार रोनाल्डोको जर्सी पहिलो १२ घण्टामै ३२.५ मिलियन पाउन्ड, अर्थात् ५ अर्ब २६ करोड नेपाली रुपैयाँभन्दा बढीको बिक्रि भएको हो।

रोनाल्डोको जर्सीको मूल्य विभिन्न अनलाइन साइटहरुमा फरकफरक छ। इंग्ल्यान्डमा उनको जर्सीको मूल्य ८० पाउन्डदेखि ११० पाउन्डसम्म छ। अर्थात्, १२ घण्टामा रोनाल्डोका नाम भएका ३,००,००० देखि ४,०६,००० वटासम्म जर्सी बिक्रि भएका हुनसक्छन्। लभ द सेल्सले इंग्ल्यान्डका १००० भन्दा बढी अनलाइन विक्रेताहरुको वेबसाइटको तथ्यांक संकलन गरेर यस्तो जानकारी दिएको हो।

यससँगै रोनाल्डोको आधिकारिक जर्सीको सर्टेज पनि भएको छ। अनलाइनबाट मात्र होइन पसलमै गएर किन्नलाई पनि कतै रोनाल्डोको जर्सी बाँकी छैन। अब उनको जर्सी पाउन एक महिना कुर्नु पर्नेछ। एक दिनमा आएको जर्सीको अर्डर पूरा एडिडासलाई गर्न एक महिना लाग्नेछ।

युनाइटेड र एडिडासको आधिकारिक वेबसाइटमा गएर रोनाल्डोको जर्सी अर्डर गर्यो भने अक्टोबर पहिलो सातामात्र दिन सकिने देखाउँछ। त्यसैले, अब नयाँ अर्डर गर्नेहरुले एक महिनापछि मात्र जर्सी प्राप्त गर्ने भएका हुन्।

Facebook Comments Box