रोनाल्डो बने युरोकपका सर्वाधिक गोलकर्ता, हंगेरीविरुद्धको खेलमा रेकर्डै-रेकर्ड

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युरोकप २०२० अन्तर्गत हंगेरीविरुद्ध भएको समूह चरणको पहिलो खेलमा दुई गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाएका छन्। पोर्चुगलका लागि सुरुवाती गोल भने राफाएल गुएरेरोले गरेका थिए ।

सो खेलमा रोनाल्डोले दुई मुख्य रेकर्ड राख्न सफल भएका थिए भने त्यसबाहेक अन्य रेकर्ड पनि बनेका थिए। पेनाल्टी मार्फत् आफ्नो पहिलो गोल गर्दै रोनाल्डोले युरोकपमा सर्वाधिक गोल गर्ने रेकर्ड कायम गरेका हुन्।

सो पेनाल्टी गोलसँगै उनले युरोकपमा गरेको कुल गोल संख्या १० पुगेको थियो। यसअघि ९ गोल सहित उनी फ्रान्सका मिसेल प्लाटिनीसँग संयुक्त रुपमा शीर्षस्थानमा थिए। उनले इन्जुरी टाइममा उत्कृष्ट गोल गर्दै आफ्नो अग्रतालाई थप फराकिलो बनाए।

यस्तै, रोनाल्डोले हंगेरीविरुद्धको खेलमा सर्वाधिक युरोकप खेल्ने रेकर्ड पनि बनाएका छन्। बुडापेस्टमा भएको खेलमा सहभागी भएसँगै उनी सर्वाधिक ५ संस्करणको युरोकपमा खेल्ने खेलाडी बनेका हुन् ।

उनी पोर्चुगलमा आयोजना भएको सन् २००४ को विश्वकप यता नियमित रुपमा पोर्चुगलका फरवार्ड रहँदै आएका छन् । उनले घरेलु मैदानमा भएको २००४ को युरोपछि २००८, २०१२ र २०१६ को युरोकपमा पोर्चुगलको अट्याक सम्हालेका थिए ।

अन्य रेकर्डहरु

यसैगरी, रोनाल्डो युरोकपमा दुई वा बढी गोल गर्ने बढी उमेरका खेलाडी पनि बनेका छन्। यसअघि युक्रेनका पूर्वखेलाडी तथा हालका कोच आन्द्रे सेभचेन्कोले ३५ वर्ष २५६ दिनमा गोल गर्दै सो रेकर्ड आफ्नो नाममा लेखाएका थिए।

यस्तै, रोनाल्डो मुख्य प्रतियोगितामा पोर्चुगलका लागि गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन्। हंगेरीविरुद्ध खेल्दा उनको उमेर ३६ वर्ष १३० दिन थियो। यसअघि यो रेकर्ड विश्वकप २०१८ मा ३५ वर्ष १२४ दिनको उमेरमा गोल गरेका पेपेको नाममा रहेको थियो।

पोर्चुगलका लागि गुएरोरेले सुरुवाती गोल ८४औं मिनेटमा गरेका थिए। यस्तै रोनाल्डोले ८७औं मिनेट र ९२औं मिनेटमा दुई गोल थपेका थिए। यससँगै पोर्चुगल युरोकपका अन्तिम १० मिनेटमा तीन वा बढी गोल गर्ने पहिलो टिम बनेको छ।

Facebook Comments Box