रोनाल्डो बने बेलायतकी महारानीले अटोग्राफ मागेको इतिहासकै एकमात्र व्यक्ति

क्रिस्टियानो रोनाल्डो यसै समर ट्रान्सफर विन्डोमा इटालियन क्लब युभेन्टस छाडेर इंग्लिस प्रिमियर लिग (इपिएल)को म्यानचेस्टर युनाइटेड पुगे। युनाइटेडबाट स्टारका रुपमा उदाएपछि स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भएका रोनाल्डो सर्वकालिन महान खेलाडी बन्न सफल भई १२ वर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका हुन्।

रोनाल्डो युनाइटेडमा आएसँगै बेलायतकी महारानी एलिजावेथले रोनाल्डोको नाम भएको ८० वटा जर्सी मगाएको समाचार बाहिरिएको छ। त्यसमध्ये एउटा जर्सी रोनाल्डोले युनाइटेडमा आएपछि साइन गरेको पहिलो जर्सी हुनुपर्ने माग पनि महारानी एलिजावेथले राखेको स्पोर्ट इनोभेसन सोसाइटीले जानकारी दिएको छ।

यससँगै रोनाल्डो बेलायतकी महारानीले अटोग्राफ मागेको इतिहासकै पहिलो खेलाडी मात्र होइन पहिलो व्यक्ति बनेका छन्। महारानी एलिजावेथले आफ्नो दरबारका कर्मचारीका लागि ८० वटा जर्सी मगाएको स्पोर्ट इनोभेसन सोसाइटीलाई उदृत गर्दै वेलायती मिडियाहरुले लेखेका छन्।

स्पोर्ट इनोभेसन सोसाइटीले आधिकारिक ट्विटरमार्फत पनि महारानी एलिजावेथले रोनाल्डोले हस्ताक्षर गरेको जर्सी मागेको जानकारी दिएको थियो। यद्यपी वेलायती राजपरिवारको सचिवालयले भने यसको पुष्टी गरेको छैन। महारानी एलिजावेथका प्रवक्ताले पनि यस विषयमा कुनै प्रतिक्रिया दिइनसकेको बेलायतका मिडियाहरूले जनाएका छन्।

भर्खरै बन्द भएको समर ट्रान्सफर विन्डोमा रोनाल्डो म्यान्चेस्टर सिटी जाने लगभग पक्का भएको थियो। तर, अन्तिम समयमा युनाइटेडले आफ्नै सहरको चिरप्रतिद्वन्द्वी सिटीलाई चक्मा दिँदै रोनाल्डोलाई अनुबन्ध गरेको हो।

हाल विश्वकप छनोट तथा मैत्रीपूर्ण खेलका लागि इन्टरनेसनल ब्रेक चलिरहेको छ। ब्रेक सकिएपछि आफु ओल्ड ट्राफोर्डमा युनाइटेडका लागि खेल्न निकै उत्साहित गरेको रोनाल्डोले बताएका छन्।

अपडेटः यो समाचारको प्राथमिक स्रोत स्पोर्ट्स इनोभेसन सेन्टरले आफुलाई सो जानकारी दिने स्रोतलाई शतप्रतिशत विश्वास गर्न नसकेको बताउँदै माथि समाचारमा उल्लेखित मूल ट्विट डिलिट गरेको छ।

Facebook Comments Box