रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाउन सक्ने

पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए नेसन्स लिगको पहिलो खेल गुमाउने खतरा बढेको छ । जिम गर्ने क्रममा खुट्टाको औंलामा चोट लागेपछि रोनाल्डोले शनिबार राति हुने क्रोएसियाविरुद्धको खेल गुमाउने सक्ने भएका हुन् ।

विभिन्न सञ्चार माध्यमहरुले रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाउने बताए पनि पोर्चुगल फुटबल संघले आधिकारिक धारणा सार्वजनिक गरेको छैन । क्रोएसियाविरुद्धको खेलमा रोनाल्डोको उपस्थितिबारे संघ द्विविधिमा भने छ । उसले विज्ञप्ति निकाल्दै क्रोएसियाविरुद्ध रोनाल्डो खेल्ने नखल्नेमा अन्योल नै रहेको बताएको छ ।

पोर्चुगल फुटबल संघ निकालेको विज्ञप्तिमा भनिएको छ, ‘बुधबार नियमित जिम लिनेक्रमा रोनाल्डोको दाहिने खुट्टाको औंलामा चोट लागेको छ । उनी चोटबाट मुक्त हुन संघर्ष गर्दैछन् र औषधि सेवन गर्दैछन् । सम्भवत शनिबार हुने खेल उनले गुमाउनेछन् ।’

रोनाल्डोले बिहीबार अभ्यास पनि नगरेकाले औंलामा लागेको चोटका कारण उनी पहिलो खेलमा बेन्चमा रहने बताएको छ । उनलाई चोट मुक्त हुन अझै केही दिन लाग्ने बताइएको छ । डिफेन्डिङ च्याम्पियन पोर्चुगलले शनिबार राति क्रोएसियाविरुद्धको खेलसँगै उपाधि रक्षाको अभियान थाल्ने छ ।

नेसन्स लिगको डिफेन्डिङ च्याम्पियन पोर्चुगलका कप्तान रोनाल्डोले राष्ट्रिय टोलीका लागि अहिलेसम्म ९९ गोल पूरा गरेका छन् । उनी यसै साता नेसनस लिगमा आफ्नो १०० गोलको रेकर्ड कायम गर्ने प्रयासमा छन् । उनी नेसन्स लिगको दोस्रो खेलबाट भने मैदान उत्रनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP