युरोपकै महान खेलाडी बन्दै रोनाल्डो

युरोकप २०२० ४ दिनपछि युरोपका विभिन्न ११ शहरमा सुरु हुँदै छ। यस्तोमा डिफेन्डिङ च्याम्पियन पोर्चुगले १५ जुनमा हंगेरीसँग खेल्दै उपाधि रक्षाको अभियान थाल्ने छ । पछिल्लो सयम गरेको प्रदर्शन र खेलाडीको मुल्याकंनका आधारमा पोर्चुगल युरोकपको स्वभाविक दाबेदार हो । त्यसको नेतृत्व गर्ने छन्, क्रिस्टियानो रोनाल्डोले।

युकपमा थुप्रै कीर्तिमान आफ्ना नाममा लेखाइसकेका रोनाल्डोले यही संस्करणमा थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाउने पक्का छ। सन् २०१६ मा पोर्चुगलले उनकै नेतृत्वमा उपाधि जितेको थियो, अहिले उनी ३६ वर्षका भए । यसपल्टको प्रतियोगितासँगै रोनाल्डोलाई दाबी गर्न सकिनेछ, यी युरोपकै सर्वकालीन महान फुटबल खेलाडी हुन् ।

युरोकपको इतिहासमा उनी सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन्, सँगै छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी पनि । यसपल्टको एक गोल मात्र गर्न सकेउनी युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्षमा हुनेछन्।

युरोकपको इतिहासमा अहिले सर्वाधिक गोलकर्ताको सूचीमा रोनाल्डो फ्रान्सका मिचेल प्लाटिनीसँग बराबरीमा छन् । रोनाल्डोले चार संस्करणका २१ खेलमा ९ गोल गरेका छन् । उनी चार संस्करणमा गोल गर्ने एक्ला खेलाडी पनि हुन् । प्लाटिनीले सन् १९८४ को एउटै संस्करणमा ९ गोल गरे, तर उनले त्यसपछि अर्को प्रतियोगिता नै खेल्न पाएनन् । सन् १९६० देखि १९९२ बीच फ्रान्सले युरो जितेको त्यही एक अवसरमात्र थियो ।

फ्रान्सका एन्टोइन ग्रिजमनले यसपल्ट राम्रो खेल्न सके भने रोनाल्डो र प्लाटिनी दुवैलाई उछिन्न सक्नेछन् । उनले ६ गोल गरेका छन् । यो सबै सन् २०१६ मा सम्भव भएको थियो।

युरोकप छनोटमा रोनाल्डोले ३१ गोल गरेका छन् । उनले सन् २०१९ को सेप्टेम्बरमै मात्र यो कीर्तिमान आफ्नो नाममा लेखाएका थिए । यसअघि यो कीर्तिमान रोबी किनको नाममा रहेको थियो ।

सन् २०१६ मा आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगल पहिलो पटक यरोकप च्याम्पियन बन्यो । यो रोनाल्डोको देशका लागि पहिलो ठूलो उपाधि थियो । संयोग कस्तो भने उनका व्यक्तिगत प्रतिस्पर्धी लियोनल मेसीले कुनैपनि ठूलो उपाधि जित्न सकेका छैनन् ।

टिमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले फाइनल भने पुरा खेल्न पाएनन् । उनले २५ मिनेटमा मात्र मैदानमा बिताए। तर उनले खेल अवधिमा टचलाइनबाट साथी खेलाडीलाई निर्देशन दिँदै बिताए। त्यो खेलमा पोर्चुगल अतिरिक्त समयमा १–० ले विजयी रहेको थियो ।

रोनाल्डोले चार संस्करणको युरो त खेले नै, यसपल्ट पाँचौं पनि खेल्नेछन् र यसक्रममा उनी यस्तो उपलब्धि चुम्ने एक मात्र खेलाडी हुनेछन् । अहिलेसम्म उनले युरोकपका २१ खेल खेलिसकेका छन् । यो जर्मनीका बास्टियन स्वान्सटाइगरको भन्दा तीन र इटालीका जियानलुइजी बुफोनको भन्दा चार खेल बढी हो ।

मिनेटकै आधारमा पनि रोनाल्डो सबैभन्दा अगाडि छन् । उनले १ हजार ७ सय ९५ मिनेट युरोकपमा लागि मैदानमा बिताएका छन् । अझ त्योभन्दा रमाइलो तथ्यांक रोनाल्डोको पक्षमा छ, उनले गोलका लागि १ सय २२ पल्ट प्रहार गरेका छन् । यो आफैमा कीर्तिमान हो । यस्तै उनी युरोका दुई उपाधि जित्ने खेलाडी सूचीमा पनि रहने सक्नेछन् ।

अपडेटः हंगेरीविरुद्धको खेलमा दुई गोल गर्दै रोनाल्डोले युरोकपमा गरेको कुल गोलसंख्या ११ पुगेको छ। यससँगै उनी युरोकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन्।
Facebook Comments Box