ग्लोबल सकर अवार्डको अन्तिम मनोनयनमा रोनाल्डो, ग्रिजम्यान र एम्बाप्पे

ग्लोबल सरक अवार्डको उत्कृष्ट तीनको मनोनयन सार्वजनिक भएको छ । दुबई स्पोर्टस् काउन्सिलले सार्वजनिक गरेको उत्कृष्ट खेलाडीको अन्तिम तीनको मनोनयनमा पाँच पटकका बलोन डि’ओर विजेता पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डोसँगै एट्लेटिको म्याड्रिडका फ्रान्सेली स्ट्राइकर एन्टोइन ग्रिजम्यान र पिएसजीका फ्रान्सेली युवा स्टार किलियन एम्बाप्पे छन् ।

पाँच पटकका बलोन डि’ओर विजेता रोनाल्डोले अघिल्लो सिजन स्पेनिस जाइन्ट रियल म्याड्रिडका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जिताउन रोनाल्डोको भूमिका अह्म थियो । रोनाल्डोले च्याम्पियन्स लिगका १४ खेलमा १५ गोल गरेका थिए ।

यस्तै रोनाल्डोले ला लिगामा २६ गोल गरेका थिए । रोनाल्डोले पोर्चुगलका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । रुस विश्वकपमा पोर्चुगललाईलाई प्रिक्वार्टरफाइलनसम्मको यात्रा तय गराउने क्रममा रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरेका थिए ।

रोनाल्डो ग्लोबल सक्कर अवार्डको चार पटकका विजेता पनि हुन् । उनले यसअघि सन् २०११, २०१४, २०१६ र २०१७ मा गरी ग्लोबल सरक अवार्ड जितेका छन् । रोनाल्डो जारी सिजनको सुरुवातमा रियल छाड्दै इटालियन क्लब युभेन्टसमा आबद्ध भएका थिए ।

यसैगरी एन्टोइन ग्रिजम्यानले पनि अघिल्लो सिजन उत्कृष्ट प्रर्दशन गरेका थिए । फ्रान्सलाई विश्व च्याम्पियन बनाउने क्रममा उनले ७ खेलमा ४ गोल गरेका थिए भने २ असिस्ट पनि गरेका थिए । एट्लेटिको म्याड्रिडबाट व्यवसायिक फुबल खेल्ने ग्रिजम्यानले अघिल्लो सिजन २९ गोल गरेका थिए । उनकै प्रदर्शनका कारण एट्लेटिकोले युरोपा लिगको उपाधि जितेको थियो भने ग्रिजम्यान युरोपा लिगका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

ग्लोबल सक्कर अवार्डको अन्तिम मनोनयनमा परेका अर्का खेलाडी हुन् फ्रान्सका युवा स्टार किलियन एम्बाप्पे । फ्रान्सलाई रुस विश्वकपको उपाधि दिलाउन उनको भूमिका पनि अह्म थियो । यसैकारण उनी रुस विश्वकपका उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए । उनले विश्वकपमा ४ गोल गरेका थिए । अघिल्लो सिजन पिएसजीलाई लिग वानको च्याम्पियन बनाउने क्रममा एम्बाप्पेले ४४ खेलमा २१ गोल गरेका थिए ।

सन् २०१९ जनवरी ३ मा दुबईमा आयोजना हुने ग्लोबल सक्कर अवार्डको उत्कृष्ट क्लबको अन्तिम तीनमा युरोपियन च्याम्पियन रियल म्याड्रिड, युरोपा लिग विजेता एट्लेटिको म्याड्रिड र च्याम्पियन लिगको फाइनलिस्ट लिभरपुल छन् । रियल यो विधाको यसअघि दुई पटकको विजेता हो ।

यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा रियल म्याड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदान, एट्लेटिको म्याड्रिडका डिएगो सिमोनी र लिभरपुलका जर्गेन क्लोप छन् । यस्तै फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडिएर डेसच्याम्प पनि मनोननयमा परेका छन् । इटालिनय क्लब युभेन्टसका प्रशिक्षक मासिमिलिएनो एलेग्री पनि उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *