रोनाल्डोको ह्याट्रिक, पोर्चुगल नेशन्स लिगको फाइनलमा

फुटबलका सर्वकालिन महान खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्दै पोर्चुगललाई नेशन्स लिगको फाइनलमा पुर्‍याएका छन् । कप्तान रोनाल्डोको ह्याट्रिकसँगै आयोजक पोर्चुगलले सेमिफाइनलमा स्विजरल्यान्डको चुनौती ३–१ ले पाखा लगायो ।

खेलको २५औं मिनेटमा प्राप्त फ्रिकिकमा सशक्त प्रहार गरेका रोनाल्डोले ३० यार्डबाट शानदार गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । ५७औं मिनेटमा रोड्रिगो रोड्रिगेजले पेनाल्टीमा गोल गर्दै स्विजरल्यान्डलाई खेलमा फर्काए ।

टिमका रुपमा उत्कृष्ट फुटबल प्रस्तुत गर्दै पोर्चुगललाई घरेलु मैदानमै निरन्तर दवाबमा राखिरहेको स्विजरल्यान्डको प्रदर्शन हेर्दा खेल एक्स्ट्र टाइमसम्म लम्बिने निश्चितप्राय थियो । तर, रोनाल्डो फाइनल प्रवेशका लागि थप ३० मिनेट संघर्ष गर्न तयार थिएनन् ।

निर्धारित ९० मिनेटको खेल सकिन २ मिनेट अगाडी बर्नाडो सिल्भाले डिबक्समा उपलब्ध गराएको ब्याकपासमा उत्कृष्ट गोल गर्दै रोनाल्डोले पोर्चुगललाई फेरि अग्रता दिलाए । त्यसको २ मिनेटपछि ९० औं मिनेटमा पुनः गोन्कालो गुइडेसको एसिस्टमा अर्को शानदार गोल गर्दै उनले आफ्नो ह्याट्रिक पुरा गरे भने फाइनलमा पोर्चुगलको सिट सुनिश्चित गरे ।

मिडफिल्डमा बलमाथि सह्रानिय कन्ट्रोल कायम गर्दै उत्कृष्ट प्रदर्शन गरेको स्विजरल्यान्डले पोर्चुगललाई खेल अवधिभर दवाबमा राखेपनि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोसँग पराजित हुन पुग्यो । कुल ५५४ पास खेल्दै ५५% बल पोजेसन राखेको स्विजरल्यान्डले १६ सट प्रहार गरेको थियो, जसमध्ये ३ सट टार्गेटमा गएका थिए ।

उता घरेलु मैदानमै ४५% बल पोजेसनमा सिमित भएको पोर्चुगलले १० सट प्रहार गरेको थियो, जसमध्ये ३ सट टार्गेटमा गएका थिए । रोनाल्डो आफ्ना सबै सट अन टार्गेट गोलमा परिणत गरेपछि करियरको ५३औं ह्याट्रिक गर्न सफल भए । यो उनले राष्ट्रिय टिमका लागि गरेको ७औं ह्याट्रिक हो । उनले रियल मड्रिडका लागि ४४ ह्याट्रिक गरेका छन् भने युभेन्टस र म्यानचेस्टर युनाइटेडको जर्सीमा १–१ ह्याट्रिक आफ्नो नाममा लेखाएका छन् ।

नेशन्स कपको यस पहिलो संस्करणको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्स आपसमा भिड्दै छन् । पोर्चुगलले आइतबार हुने फाइनलमा सो खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.