रोनाल्डोले जिते ‘वर्षको उत्कृष्ट फुटबल खेलाडी’ अवार्ड

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पोर्ट्स च्यानल सोनी इएसपिएनले प्रदान गर्ने ‘इएसपिवाइ अवार्ड २०१८’मा अन्तर्राष्ट्रिय फुटबलका वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड जितेका छन् । लस एन्जल्सको माइक्रोसफ्ट थिएटरमा आयोजित कार्यक्रममा रोनाल्डोले सो अवार्ड जितेका थिए । तर, चिन भ्रमणमा रहेकाले अवार्ड समारोहमा भने उनी उपस्थित थिएनन ।

रियल म्याड्रिडलाइ पाँचौंपटक च्याम्पियन्स लिग जिताउने क्रममा गरेको उत्कृष्ट प्रदर्शन र महत्त्वपूर्ण योगदानका लागि उनलाई सो अवार्ड दिइएको हो । युभेन्टस विरुद्धको क्वार्टरफाइनलमा रियल म्याड्रिड एग्रिगेटमा ४-३ ले विजयी हुँदा रोनाल्डोले ३ गोल गरेका थिए । जसमध्ये एउटा गोल उनले गुरुत्वाकर्षण शक्तिलाई नै मात खुवाउने किसिमको शानदार ओभरहेड किकबाट गरेका थिए ।

२०१७/१८ को सिजनका सबै प्रतियोगितामा रोनाल्डोले कूल ४४ गोल र ८ असिस्ट गरेका थिए । रोनाल्डोकै प्रदर्शनको प्रेरणामा रियल म्याड्रिडले पछिल्लो सिजनको च्याम्पियन्स लिग जित्दै उपाधिमाथी लगातार तेस्रोपटक कब्जा जमाएर च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने दुर्लभ एवं ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

रुस विश्वकप लगत्तै रोनाल्डो किर्तिमानी ८३ मिलियन युरोमा स्पेनिस जाइन्ट छाडेर इटालीको युभेन्टसमा अनुबन्धित भइसकेका छन । रोनाल्डोले ३० वर्षमाथिको उमेरमा सबैभन्दा बढी रकममा क्लब ट्रान्सफर गर्ने कीर्तिमान राखेका हुन । रियल म्याड्रिडलाई जस्तै अब उनले युभेन्टसलाई पनि युरोपको च्याम्पियन बनाउने धेरैले अपेक्षा गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *