ला लिगा च्याम्पियन बार्सिलोना नयाँ डिफेन्सिभ मिडफिल्डरको खोजीमा छ। आफ्ना भेट्रान मिडफिल्डर सर्जियो बुस्केट्सले क्लब छाड्ने भएपछि बार्सिलोना नयाँ मिडफिल्डरको खोजीमा लागेको हो।
जसअनुसार बार्सिलोनाले पोर्चुगिज मिडफिल्डर रुबेन नेभेसलाई भित्र्याउन लागेको छ। २६ वर्षीय यी मिडफिल्डरलाई बार्सिालोनाले इंग्लिस क्लब वुल्भ्सबाट भित्र्याउन लागेको हो।
बार्सिलोनाले २६ मिलियन पाउण्डमा नेभेसलाई भित्र्याउन लागेको हो। रिपोर्टअनुसार बार्सिलोना र नेभेसबीच मौखिक सहमति भइसकेको छ। औपचारिक सम्झौता भने हुन बाँकी छ।
च्याम्पियन्स लिग खेल्ने चाहेको बताउँदै आएका नेभेसले अघिल्लो सिजन नै वुल्भ्स छाड्न चाहेका थिए।
नेभेस सन् २०१७मा पोर्चुगिज क्लब एफसी पोर्टोबाट वुल्भ्स आएका थिए । त्यसयता उनले वुल्भ्सबाट २५३ खेल खेल्दै ३० गोल गरेका छन्। सन् २०१८मा वुल्भ्सलाई प्रिमियर लिगमा बढुवा गराउन उनको भूमिका महत्वपूर्ण थियो।
नेभेससँगै मुख्य प्रशिक्षक जाभीले म्यान्चेस्टर सिटीका जर्मन मिडफिल्डर इल्के डुन्डोगानलाई पनि बार्सिलोना ल्याउन चाहिरहेका छन्। सिटीसँग ३२ वर्षीय गुन्डोगानको सम्झौता यही जुनमा सकिँदैछ। बार्सिलोनाले गुन्डोगानलाई फ्रि ट्रान्सफरमा भित्र्याउन चाहेको हो।