एम्बाप्पे, काभानी र डि मारियाको गोलमा पिएसजी विजयी

युवा स्ट्राइकर किलियन एबाप्पे, इडिन्सन काभानी र एन्जेल डि मारियाले गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई ४–२ गोलले हरायो । जीतसँगै पीएसजीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा पीएसजीलाई जिताउन एन्जल डी मारिया, केलियन एमबाप्पे र एडिसन काभानीले गोल गरे । पीएसजीले अर्को गोल उपहार पाएको थियो । लियोनका मार्टिन टेरियर र मौउसा डेम्बेलेले एक–एक गोल गरे । पीएसजीले २२ औँ मिनेटमा डीमारियाको गोलको सहयोगमा सुरुवाती अग्रता लिएको थियो । ३८ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ४७ औँ मिनेटमा लियोनका फर्नान्डो मार्कलको प्रहार आत्मघाती गोलमा परिणत भएपछि पीएसजीले फराकिलो अग्रता बनायो ।

त्यसपछि लियोनका मार्टिनले ५२ औँ र मौउसाले ५९ औँ मिनेटमा लगातार दुई गोल फर्काए । ७९ औँ मिनेटमा एडिन्सन काभानीले डी मारियाको पासमा गोल गर्दै पीएसजीलाई सजिलै जिताए ।

जितसँगै शीर्ष टोली पीएसजीले २४ खेलबाट ६१ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेको ४९ अंक छ भने ३३ अंक बनाएको लियोन नवौँ स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.