फुटबलराष्ट्रिय फुटबल

युरोपको अनुभवले अबको खेलमा राम्रो गर्न प्रोत्साहित गरेको छ : सावित्रा

युरोपेली लिग खेलेर नेपाली फरवार्ड सावित्रा भण्डारी आज स्वदेश फर्किएकी छन्। इजरायली क्लब हापोएल रानानाबाट दुई नकआउट र दुई लिग खेलपछि एसियाली खेलकुदमा सहभागी बन्न सावित्रा नेपाल फर्किएकी हुन्।

नेपाली महिला फुटबल टिमले विगत दुई महिनादेखि एसियाली खेलकुदको तयारी गरिरहेको छ। अब सावित्रा पनि एसियाडको तयारीमा रहेको नेपाली टिममा सामेल हुनेछिन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बित्तिकै सावित्राले एसियाली खेलकुदमा जापानसँग बलियो प्रतिस्पर्धी भएको बताइन् । तर प्रतिस्पर्धाका लागि तयार रहेको उनको भनाइ छ ।

सावित्रा भन्छिन्, ‘जापान फुटबलमा एसियाको पावर हाउस मानिन्छ। त्यसैले पनि हाम्रा लागि चुनौती छ ।’

साथै, उनले युरोपेली फुटबलको अनुभव पनि साट्न भ्याइन्। अगस्टको पहिलो हप्ता इजरायल गएकी उनले रानानाबाट लिगका दुई खेलमा पाँच गोल गरिन्। रानानाले युरोपेली च्याम्पियन्स लिगको छनोट खेल्न लागेको हापोएल पेटा टिक्‍वासँग १–१ गोलको बराबरी खेल्दा सावित्राले गोल गरेकी थिइन्।

तीन पटक लगातार च्याम्पियन बनेको पेटा टिक्‍वाविरुद्ध बराबरी खेलेपछि सावित्राको टिम अहिलेसम्म अपराजित छ। इजरायलबाट फर्किएपछि उनले त्यहाँको लिग दक्षिण एसियाली देशको लिगसँग तुलना गर्नै नसकिने बताइन्।

सावित्रा भन्छिन्, ‘ युरोपियन लिगको स्तर एकदमै राम्रो छ। यो अनुभवले मलाई अबको खेलमा राम्रो गर्न सहयोग गर्छ।’

सावित्रा नेपालबाट युरोपेली लिग खेल्ने पहिलो खेलाडी हुन्। एसियाली देश भए पनि इजरायलले युरोपेली महासंघको सदस्यता लिएको छ। त्यहाँको च्याम्पियन टिमले युरोपेली च्याम्पियन्स लिगको छनोट खेल्न पाउँछ।