यी हुन् साफ च्याम्पियनसिपमा डेब्यू गर्न तयार नेपाली खेलाडी

नेपाली राष्ट्रिय फुटबल टिम यतिवेला माल्दिभसमा छ । कतारमा दुई साता बन्द प्रशिक्षण गरेर माल्दिभ्स पुगेको नेपाली टिमले आजै साफ च्याम्पियनसिपमा पहिलो खेल खेल्दै छ।

मालेमा राति ९ः४५ मा हुने खेलमा नेपालले १३औं साफको आयोजक माल्दिभ्सको सामाना गर्ने छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टिममा अधिकांश युवा खेलाडी छन्।

धेरै युवा र केही अनुभवी खेलाडीका साथ माल्दिभ्स पुगेको नेपाली टिम पहिलो पटक साफको च्याम्पियन बन्ने योजनामा छ । ५ टिम मात्र सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा हुने छ । र, शीर्ष दुईमा रहँदै फाइलनमा पुग्न प्रत्येक खेलमा उत्तिकै महेनत गर्नुपर्ने छ।

२३ सदस्यीय नेपाली टिमका आधाबढी खेलाडी पहिलो पटक साफ च्याम्पियनपिसप खेल्दै छन् । जसमा आशिष लामा, आयुष घलान, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नितिन थापा, पूजन उपरकोटी, सन्तोष तामाङ, सुमन लामा, सुरजज्यू ठकुरी, तेज तामाङ तथा गोलकिपरद्वय विशाल श्रेष्ठ र दीप कार्की छन्। तीमध्ये धेरै खेलाडीले पहिलो रोजाइमै पर्ने छन्।

नेपाली टिममा सबैभन्दा अनुभवी खेलाडी हुन्, रोहित चन्द । उनी नेपालका लागि साफ च्याम्पियनसिप सर्वाधिक खेल्ने खेलाडी हुन्। १७ खेल खेलेका रोहितले सन् २००९ देखि साफ च्याम्पियनसिप खेल्न थालेका हुन्।

समग्रमा रोहितभन्दा नेपाल लागि धेरै खेल खेलेका कप्तान किरण चोम्जोङ साफ खेलेको अधारमा रोहितभन्दा कम अनुभावी छन्। सन् २०११ बाट साफ च्याम्पियन सिप खेल्न थालेका किरणले १४ खेल खेलेका छन्।

त्यसपछि अञ्जन विष्ट ६, नवयुग श्रेष्ठले ५ र विशाल श्रेष्ठले ४ खेल खेलेका छन् । यस्तै, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुमन अर्याल र सुनील बल भने अघिल्लो संस्करणबाट साफमा डेब्यू गर्ने खेलाडी हुन्।

Facebook Comments Box