महिला साफ च्याम्पियनसिप : भुटानसँग भिड्दै नेपाल

पाँचौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल आजबाट सुरु हुँदै छ । विराटनगरस्थित सहिद रंगशालामा आजबाट सुरु हुने प्रतियोगिताको उद्घान खेलमा नेपालले भुटानको सामाना गर्दै छ ।

महिला साफ च्याम्पियनसिपको सुरुवाती तीन संस्करणको फाइनलमा पुगे पनि भारतसँग पराजित हुँदै उविजेतातै समीति बनेको नेपालले घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य लिएको छ ।

भुटानविरुद्धको उद्घाटन खेल भने नेपालका लागि सहज हुने छ । प्रतियोगिताको सबैभन्दा कमजोर टिम हो भुटान । उसले अहिलेसम्म प्रतियोगितामा एउटा पनि खेल जित्न सकेको छ्रैन ।

त्यसैले भुटानविरुद्ध सहज जित हात पार्दै नेपाल आफ्नो उपाधि जित्ने अभियानको थालनी गर्न चाहन्छ । नेपाल र भुटान साफ च्याम्पियनसिपमा २ पटक आमने सामने भएका छन् । समूह चरणमा भएका दुवै भेटमा नेपालले भुटानविरुद्ध समान ८–० को जित निकालेको छ ।

सन् २०१४ मा पाकिस्तानको इस्लामावादमा भएको तेस्रो साफको समूह चरणमा भुटानसँग नेपालको पहिलो भेट भएको थियो । त्यसपछि सन् २०१६ मा भारतमा भएको चौंथो साफपछि यी दुई टोली विराटनगरमा मंगलबार पहिलो पटक आमनेसामने हुनलागेका हुन् ।

साफा च्याम्पियनसिपमा नेपालले भारतबाहेक सबै टिमसँग शतप्रतिशत नतिजा निकालेको छ । नेपालले भारतसँग भने प्रतियोगितामा एउटै जित निकाल्न सकेको छैन । नेपाल चारै संस्करयामा भारतसँग मात्र पराजित छ ।

प्रशिक्षक हरि खड्का विपक्षीलाई सम्मान गर्दै आफूहरु राम्रो खेल प्रदर्शन गर्ने बताउँछन् । ‘विगतको नतिजा जे भए पनि हामी विपक्षीलाई सम्मान गर्छौ’, प्रशिक्षक खड्काले भने, ‘भुटानलाई सजिलो रुपमा लिएका छैनौं। राम्रो खेल्छौ र राम्रो खेलेर जित्ने प्रयास गर्नेर्छौ ।’

साफा च्याम्पियनसिपमा नेपालको प्रदर्शन

सन् २०१० बाट सुरु भएको महिला साफ च्याम्पियनसिपमा नेपाल अझै उपाधिबाट वञ्चित छ । नेपाल प्रतियोगितामा ३ पटक फाइलन पुगेर पनि तीनै पटक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।

सन् २०१० मा बंगलादेशमा भएको पहिलो साफ महिला च्याम्पियनसिपमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–०, पाकिस्तानलाई १२–० ले पराजित गरेको थियो । सेमिफाइनलमा आयोजक बंगलादेशलाई ३–० ले पराजित गरेको नेपाल फाइलनमा भारतसँग १–० ले पराजित भएको थियो ।

सन् २०१२ मा श्रीलंकामा भएको दोस्रो साफमा पनि नेपालले फाइलनसम्मको यात्रा तय गरेको थियो । समूह चरणमा नेपालले पाकिस्तानलाई ८–० ले, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ ले पराजित गरेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ३–० ले पराजित गरेको नेपाल फाइनलमा भारतसँग ३–१ ले स्तब्ध बनेको थियो ।

पाकिस्तानले आयोजना गरेको सन् २०१४ को तेस्रो साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले भुटानलाई ८–०, पाकिस्तानलाई २–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्र्दै फाइनलमा पुगेको नेपाल फाइलनमा भारतसँग ६–० को फाराकिलो अन्तरले पराजित हुँदै उपाधिबाट विमूख भएको थियो ।

भारतमा भएको चोथौ संस्करणमा भने नेपाल फाइलन पुग्न असफल भयो । समूह चरणमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको नेपाल सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित हुँदै फाइनल पुग्न असफल भयो ।

ट्रफी सार्वजनिक

प्रतियोगिताअघि सोमबार च्याम्पियसिप ट्रफी सार्वजनिक भएको छ । सहभागी सबै राष्ट्रका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । सहभागी टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्ने बताएका छन् । भुटानका प्रशिक्षक र कप्तानले नेपाललाई बलियो टोलीका रूपमा लिएका छन् ।

यता नेपालका प्रशिक्षक हरि खड्काले अभ्यास र अनुभवी खेलाडीका कारण नेपालको उपाधि जित्ने अवसर भएको बताए । ‘यसपटक हाम्रो प्रशिक्षण राम्रो भएको छ, यसका साथै टोलीमा अनुभवी खेलाडी छन्,’ उनले भने, ‘समग्रमा हामी उपाधि जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP