
ए डिभिजन लिगमा संकटाले पुलिसलाई हरायो
Read Time:1 Minute
सहिद स्मारक ए डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबमाथि सङ्घर्षपूर्ण जित हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाले पुलिसलाई १–० ले पराजित गरेको हो।
संकटाको जितमा पहिलो हाफमा निरज कस्नेतले गरेको गोल नै निर्णायक बन्यो। निरजले खेलको १८औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा डाइभिङ हेडरमार्फत् गोल गरेका थिए।
जारी लिगमा उनको यो तेस्रो गोल हो। यसअघि उनले फ्रेन्ड्स र मनाङविरुद्ध समान एक गोल गरेका थिए।
जितसँगै अपराजित रहेको संकटा ४ खेलबाट ८ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। समान ८ अंक नै रहे पनि अर्को विभागीय टोली त्रिभुवन आर्मी गोलअन्तरमा तेस्रो स्थानमा छ। पहिलो हार बेहोरेको पुलिस ४ खेलबाट आठौं स्थानमा यथावत् छ।