सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब विजयी भएको छ। शनिबार च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि २–१को जित निकाल्यो।
लागतार चार हारपछि जित निकाल्नेक्रममा सातदोबाटोका लागि शिव सुवेदी र दीपकराजसिंह ठकुरीले गोल गरे भने आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरेका छन्।
खेलमा अग्रता पनि सातदोबाटोले लियो । उसका खेलको दोस्रो मिनेटमा नै शिवले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए। तर, खेलको २९ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई खेलमा फर्काए।
पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा ६३औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई २–१को जित दिलाए । उनले पेनाल्टीमा गोल गरेका थिए।
चार खेलपछि जित निकालेसँगै सातदोबाटो लिगको पाँचौं स्थानमा उक्लिएको छ। लिगमा नवौं जित निकालेको सातदोबाटोले २४ खेलमा ३२ अंक जोडेको छ। यता, आर्मी भने ३० अंकसहित नवौं स्थानमा छ।