सातदोबाटो र स्टार अस्पतालको सहकार्य गर्ने सहमति

सातदोबाटो युथ क्लबको मेडिकल पार्टनरका रुपमा स्टार हस्पिटल लिमिटेड जोडिएको छ। यसै सिजन ए डिभिजनमा उक्लिएको सातदोबाटोले स्टार हस्पिटलसँग एक वर्षको सम्झौता गरेको छ।

सम्झौतामा स्टार अस्पतालका तर्फबाट अध्यक्ष किशोर महर्जन र क्लबको तर्फबाट अध्यक्ष कपिल रानामगरले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर साहिल रुपाखेती, डा. सञ्जय भट्टचन र क्लबका महासचिव सुनील बिष्ट, सचिव रबिन खड्का, व्यवस्थापक विनोद राई, सदस्य प्रकाश मानन्धर र पारस महर्जन लगायतको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार क्लबले अस्पतालबाट विभिन्न स्वास्थ सेवा पाउनेछ। क्लबले पनि अस्पतालको विविध माध्यमबाट प्रचार–प्रसार गर्नेछ। पहिलोपटक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको सातदोबाटो अहिले खेलाडी अनुबन्ध गर्न पनि आक्रामक रुपमा लागिरहेको छ।

क्लबले लिगलाई लक्षित गर्दै पिटर सेगुन, स्यान्सु भुसाल, मानबहादुर तामाङ, आदिल हामिद, आशिष राई, सुदिप गुरुङ, प्रकाश पुन, बसन्त तामाङ, अभिषेक बराल, करण रावत र रन्जन पुन लगायतका खेलाडी अनुबन्ध गरिसकेको छ ।

Facebook Comments Box