क्लब फुटबलफुटबल

रोमालाई पेनाल्टीमा हराउँदै सेभियाले जित्यो सातौं युरोपा लिग उपाधि

स्पेनिस क्लब सेभियाले सातौं पटक युरोपा लिग उपाधि जितेको छ। बुधबार राति हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा भएको फाइनलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ले हराउँदै हराउँदै सेभियाले सातौं पटक युरोपा लिग उपाधि जितेको हो।

निर्धारित समय र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको थियो। पेनाल्टीमा सेभियाका लुकास ओकम्पोस, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टियालले गोल गरे।

रोमाका लागि पहिलो पेनाल्टी प्रहार गरेका ब्रायन क्रिस्टान्टेले मात्र गोल गरे भने जियानलुका मान्सिनी र रोजर एभालेजले गोल गर्न सकेनन्। मान्सिनीको प्रहार सेभियाको गोलकिपर यासिन बोनोले रोकेका थिए भने एभालेजको प्रहार पोस्टमा लागेको थियो।

खेलमा अग्रता रोमाले लियो । ३५औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए। उनी चोटका कारण लामो समयपछि मैदान फर्किएका थिए। पूर्ण रुपमा फिट नभएपनि प्रशिक्षक जोसे माउरिन्होले उनलाई मैदान उतारेका थिए।

तर, रोमाकै मान्सिनीले ५५औं मिनेटमा आत्मघाती गोल गरेपछि सेभिया खेलमा फर्किएको थियो।

सन् २००६ मा पहिलो पटक युरोपा जितेको सेभियाले त्यसयता २००७, २०१४, २०१५, २०१६ र २०२० मा युरोपा लिगको उपाधि जितेको थियो। उसले युरोपा लिगको कुनैपनि फाइनल हारेको छैन।

यता, प्रशिक्षक माउरिन्हो भने युरोपियन क्लब फुटबलको फाइनल पहिलो पटक पराजित भए। यसअघि उनले समान २ च्याम्पियन्स लिग र युरोपा लिग तथा १ कन्फ्रेन्स लिग उपाधि जितेका थिए।