स्लोभाकियाको पोस्टमा स्पेनको कीर्तिमानी गोल

युरोकप २०२० को अन्तर्गत समूह ‘ई’को अन्तिम खेलमा स्पेनले स्लोभाकियाविरुद्ध कीर्तिमानी जित हात पारेको छ। जितसँगै स्पेन समूहको उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ भने स्लोभाकिया समूह चरणबाटै बाहिरिएको छ।

सेभियामा भएको खेलमा स्पेनले स्लोभाकियाको पोस्टमा ५ गोल गर्न सफल भयो। यससँगै स्पेनले युरोकपमा सबैभन्दा फराकिलो अन्तरले जित हात पार्ने रेकर्ड बराबरी गरेको छ। युरोकपमा ५ गोलको अन्तर नै सबैभन्दा फराकिलो अन्तरको जित हो।

यसअघि चार टिमले युरोकपमा ५ गोलअन्तरको जित हात पार्न सफल भएका थिए। नेदरल्यान्ड्स ६–१ युगोस्लाभिया (२०००), डेनमार्क ५–० युगोस्लाभिया (१९८४), फ्रान्स ५–० बेल्जियम (१९८४) र स्विडेन ५–० बुल्गेरिया (२००४) को रेकर्ड स्पेनले स्लोभाकियाविरुद्ध बराबरी गरेको हो।

स्पेनका लागि आएमेरिक लापोर्टे, पाब्लो सराबिया र फेरान टोरेसले समान एक–एक गोल गरेका थिए भने स्लोभाकियाले दुईवटा आत्मघाती गोल उपहार स्वरुप दिएको थियो। ३० मिनेटमा गोलकिपर मार्टिन दुब्राभ्का र ७१ मिनेटमा मिडफिल्डर जुराज कुक्काले आत्मघाती गोल गरेका हुन्।

जितसँगै उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको स्पेनले क्वार्टरफाइनलमा क्रोएसियाको सामना गर्नेछ। स्पेन र क्रोएसियाबीचको खेल २८ जुनमा कोपनहेगस्थित पार्केन स्टेडियमा हुनेछ।

Facebook Comments Box