ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रकम संकलन भएको छ। सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम संकलन भएको हो ।
सोमबार र मंगलबार भएको सेमिफाइनल खेलबाट चार लाख ६५ हजार संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए। उनका अनुसार क्वाटरफाइनलबाट छ लाख ५५ हजार आठ सय संकलन भएको हो।
सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क रु दुई सय र क्वाटरफाइनलका लागि एक सय टिकटदर निर्धारण गरिएको थियो। यस्तै आज हुने फाइनल खेलका लागि पनि रु दुई सय नै टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए।
खेलको पहिलो दिन भदौ १४ गते रु एक लाख ७० हजार आठ सय, १५ गते रु एक लाख ३१ हजार सात सय, १६ गते रु एक लाख ७५ हजार सात सय तथा भदौ १७ गते रु एक लाख ७७ हजार सात सयको टिकट बिक्री भएको थियो।
यसैबीच सेमिफाइनलको पहिलो दिन भदौ १८ गते एक लाख ५८ हजार चार सय र दोस्रो दिन भदौ १९ गते तीन लाख सात हजार चार संकलन भएको कोषाध्यक्ष श्रेष्ठले बताए।
प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन्। उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ र उपविजेताले एक लाख ५१ हजार एक सय ११ पुरस्कार प्राप्त गर्नेछन्। ताप्लेजुङ गोल्डकप ताप्लेजुङ जिल्लाका ठूलो प्रतियोगिता हो।