रियलले अलाभेसलाई हरायो, उपाधिबाट दुई जित टाढा

स्पेनिस लाग लिगामा लिग लिडर रियल मड्रिडले जित हात पारेको छ । शुक्रबार राति घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा भएको खेलमा रियलले अलाभेसलाई २–०ले हरायो ।

यो जितसँगै रियल मड्रिड उपाधि नजिक पुगेको छ । उसलाई अब उपाधि उचाल्न २ जित मात्र आवश्यक छ । अहिले रियलले शीर्ष स्थानमा ४ अंकका अग्रता बनाएको छ । कोरोना भाइरस महामारीपछि रियलले लगातार ८ खेल जित्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको हो । अब लिगमा ३ खेल बाँकी रहँदा रियलको ८० अंक छ भने बार्सिलोनाको ७६ अंक छ । अब लिगका तीन चरणका खेल मात्र बाँकी छ ।

उता रियलसँग पराजित अलाभेस भने अझै रेलिगेसन जोन मै छ । ३५ खेलबाट ३५ अंक जोडेको अलाभेसका साथ १७औं स्थानमा छ । तालिकामा अलाभेसभन्दा पछि रहेका मालोर्काको ३२, लेगानेसको २९ र रेलिगेसनमा परिसकेको स्पानयोलको २४ अंक छ ।

अलाभेसविरुद्ध जित दिलाउन कप्तान करिम बेन्जिमा र मार्को असेन्सियोले गोल गरे । रियलले दुवै हाफमा समान १ गोल गरेको थियो । रियलले खेलको ११औं मिनेटमै अग्रता लियो । डिबक्समा फेरलान्ड मेन्डीलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो, त्यही अवसरमा बन्जिमाले गोल गरेका थिए । असेन्सिओले ५०औं मिनेटमा बेन्जिमाकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए ।

ला लिगाकै अर्को खेलमा ग्रानाडाले रियल सोसिडाडलाई ३–२ को रोमाञ्चक जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पहिलो हाफमा ग्रानडाले २–०को अग्रता लिएको थियो, दोस्रो हाफमा सोसिडाडले दुई गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको थियो । तर, पुनः ग्रानडाले गोल गर्दै खेल जित्यो ।

ग्रानडाका एन्टेनियो पुइटास, रोबर्टो सोल्डाडो र डोमिन्गोस ड्वाटेले गोल गरेका थिए भने सोसिडाडका मिकेल मेरिनो र मिकेल ओरासाबेलले गोल गरेका थिए । जितपछि ३५ खेलबाट ५० अंक जोडेको ग्रानाडा नवौं स्थानमा उक्लेको छ भने सोसिडाड भने ५१ अंकसहित सातौं स्थानमै यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *