नेमारले यसकारण कहिल्यै जित्दैनन् बालोन डि’ओर

निःसन्देह नेमार विश्व फुटबलका सदाबहार हुन्। उनको खेल शैली नै यस्तै छ, जसले जो कोहीलाई मोहित बनाइदिन्छ। र, धेरैले उनलाई भन्ने गर्छन्, ‘स्किल किङ।’ विश्वफुटबलका ब्राजिलियन लेजेन्ड पेलेले भनेका छन्– फुटबल अर्थात् सुन्दर खेल।

पेलेले भनेझैं फुटबल आफैंमा सुन्दर खेल त हुँदै हो। अझ कलात्मक खेल शैलीले यसलाई थप सुन्दर बनाइदिन्छ। खेललाई कलात्मक बनाउने क्षमता नेमारले राख्छन्। जुन मैदानमा उनले देखाउने ‘स्किल’, सुन्दर मुभ र फिनिसिङले प्रमाणित गरेको छ।

१७ वर्षको उमेरमा ब्राजिलियन क्लब सान्तोसबाट डेब्यु गरेका उनले आकर्षक फुटबल खेले, निरन्तर शानदार गोल गरे। जसले उनलाई सानै उमेरदेखि विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी बन्ने यात्रामा अघि बढायो।

तर, उनको नियती भनौं वा अफसोच। जे होस्, सर्वोत्कृष्ट खेलाडी बन्ने उनको यात्रा आजसम्म गन्तव्यमा पुगेको छैन। नेमार उत्कृष्ट खेलाडी हुन् भन्ने विषयमा कुनै सन्देह छैन। तर, सर्वोत्कृष्ट खेलाडीले पाउने बालोन डि’ओरबाट नेमार आजसम्म पनि बञ्चित छन्। र, त्यो प्रतिष्ठित अवार्ड पाउने छाँटकाँट पनि देखिएको छैन।

‘द एथ्लेटिक’ले भनेको छ, ‘१७ वर्षकै उमेरबाट आफ्नो जादुयी फुटबलले सबैलाई मोहनी लगाएका नेमार विश्व फुटबलका निर्विरोध राजकुमार हुन्। तर, श्रीपेच बिनाको राजकुमार।’ नेमारको हकमा ‘द एथ्लेटिक’ले जे भनेको छ, सत्य त्यही नै हो।

आखिर किन नेमारले आजसम्म कहिल्यै फुटबलको ‘श्रीपेच’ मानिने बालोन डि’ओर जित्न सकेनन्? र, किन उनले अब कहिल्यै पनि जित्ने छैनन्? यसका मुख्य दुईवटा ठूला कारण छन्। ती ठूला कारणका पछि सहायक कारण त हुने नै भए।

मेस्सी र रोनाल्डोको छायाँ

नेमारले बालोन डि’ओर जित्न नसक्नुको मुख्य कारण हो– लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको दबदबा। यो स्वभाविक पनि हो। सन् २०१८ को अपवाद बाहेक सन् २००८ पछि अहिलेसम्म मेसी र रोनाल्डोले बालोन डि‘ओर एकआपसमा यसरी बाँडेका छन्, मानौं त्यो सार्वजनिक अवार्ड नभएर उनीहरुको निजी सम्पत्ती हो।

फुटबलको सन्दर्भमा हामी अहिले रोनाल्डो र मेसीको युगमा छौं। एक दशकभन्दा लामो समय हरेक सिजन उस्तै चुस्त फर्ममा रहेर शानदार प्रदर्शन गर्दै आएका रोनाल्डो र मेसीले आफ्नो युगका हरेक साना–ठूला खेलाडीलाई छायामा पारेका छन्। र, त्यो छायामा सबैभन्दै कोही हराएको छ भने ति हुन्– नेमार।

फुटबलमा रोनाल्डो र मेसीको अधिपत्य यतिसम्म छ कि अधिकांश अवार्ड सक्रिय खेलाडीहरुको मूल्यांकन हुन छाडिसक्यो। बालोन डि’ओर पनि रोनाल्डो–मेसीको छायाबाट उम्किन सक्ने कुरा आएन। अन्य अवार्ड जस्तै बालोन डि’ओर पनि खेलाडीहरुको मूल्यांकन नभएर मेसी र रोनाल्डोमध्ये कसले जित्ला भनेर गरिने वार्षिक प्रतिस्पर्धा जस्तो मात्रै रहन गयो।

फुटबलमा दिइने सबै अवार्ड र उपाधिको अवस्था त्यस्तै थियो। कुन खेलाडीले कुन अवार्ड जित्ला भन्ने पहिलेजस्तो माहोल रहेन। फुटबलका अवार्डको हैसियत कुन–कुन रोनाल्डोले जित्छन् र कुन–कुन मेसीले जित्छन् भन्ने कुरा व्यापारीले बहिखातामा हिसाब गरेभन्दा फरक रहन सकेन।

र, रोनाल्डो–मेसीको युगमा उनीहरुको अधिपत्यको शिकार भएका छन्– नेमार। भलै अन्य ठूला स्टार पनि यसको शिकार भएका छन्। जुनबेला नेमार विश्व फुटबलको स्टार बन्दै थिए। त्यतिबेला रोनाल्डो र मेसी सर्वोत्कृष्टताको हरेक मापक र सीमा भत्काउँदै नयाँ र अकल्पनीय उचाई सिर्जना गर्दै थिए।

रोनाल्डो–मेसी युगमा व्यक्तिगत उपाधीका हिसाबमा सबैभन्दा बढी पीडित को भयो भनेर तुलना गर्ने हो भने नेमार नै शीर्षस्थानमा आउने छन्। मेसी–रोनाल्डोले हरेक वर्ष नयाँ रेकर्ड कायम गर्दै र अर्को वर्ष त्यही रेकर्ड तोड्दै पछिल्लो दशकमा उत्कृष्टताको सीमा यति अग्लो बनाएका छन् कि जोसुकैले त्यो उचाई छिचाल्ने क्षमता राख्दैन। उनीहरुले मुख्यतः फरवार्डहरुका लागि फुटबलको डाइनामिक्स र सीमा नै परिवर्तन गरिदिएका छन्।

जहाँ मेसी र रोनाल्डो हरेक वर्ष अकल्पनीय प्रदर्शन गर्दै फुटबलमा नयाँ उचाई कायम गरिरहेका थिए, नेमारको प्रदर्शन भने औसतभन्दा माथि मात्र थियो। तर, यो उनको कमजोरी भने होइन। नेमारको फुटबल खेल्ने शैली पृथक छ। साथै, उनले अधिकांश समय जस्ता टिममेटसँग खेले त्यसले पनि उनको प्रदर्शनमा प्रभाव पारेको थियो।

नेमारले युरोपमा ८ वर्ष व्यावसायीक फुटबल खेलेका छन्। जसमध्ये केबल दुई सिजनमात्र २० गोलभन्दा बढी गर्न सफल रहे। साथै, बार्सिलोना तथा पिएसजीमा खेल्दा उनी कहिल्यै आफ्नो टिमको सर्वाधिक गोलकर्ता बन्न पनि सकेनन्।

नेमार फुटबलका राम्रा खेलाडी हुन्, तर उनी सर्वोत्कृष्ट खेलाडी होइनन् भन्नका लागि थुप्रै जायज तर्क छन्। सर्वोत्कृष्ट खेलाडी हुनका लागि कायम भएका नयाँ उचाइ चढ्न त टाढाको कुरा, करियरको अधिकांश समय त्यसलाई छुन पनि हम्मेहम्मे पर्यो नेमारलाई।

विश्व फुटबलमा एउटा दृष्टिकोण वा बुझाई सूक्ष्म रुपमा विकास हुँदैछ– नेमार सर्वोत्कृष्ट खेलाडीको वर्गमा पर्ने किसीमका खेलाडी कहिल्यै पनि थिएनन्। उनी सर्वोत्कृष्टको श्रेणीमा पर्नेगरि फुटबलमा छाउन सधैं असमर्थ रहे।

२०१५ र २०१७ मा उनी बालोन डि’ओरको होडमा तेस्रो भए। तर, उनले आफ्नो करियरमा कहिल्यै बालोन डि’ओर जित्ने सम्भावना थिएन। उनी तेस्रो हुँदापनि अवार्डका दाबेदार रोनाल्डो र मेसी नै थिए। उनीहरुको दाबेदारीलाई नेमारले कहिल्यै चुनौती दिन सकेनन्। उनी तेस्रो भएको बेला पनि अवार्ड जित्ने एकतिहाई सम्भावना बोकेका थिएनन्।

मेसीले २०१५ को बालोन डि’ओर जित्दा ४१.३३ प्रतिशत मत पाएका थिए भने दोस्रो स्थामा रहेका रोनाल्डोको २७.७६ प्रतिशत मत थियो। तर, नेमारको भागमा ७.८६ प्रतिशत मात्र। यस्तै, २०१७ मा रोनाल्डोले १०१७ पोइन्टसहित बालोन डि’ओर जित्दा मेसी ६७० पोइन्टमा दोस्रो भए भने तेस्रो भएका नेमारको जम्मा ३६१ पोइन्टमात्र थियो।

अर्थात्, उनी कहिल्यै बालोन डि’ओरको होडमै थिएनन्। तेस्रो स्थानमा थिए, तर दोस्रो स्थान र उनको तेस्रो स्थानबीच अपुरणीय खाडल थियो। उनी मनोनितको सूचीमा त थिए, तर प्रतिस्पर्धामा कहिल्यै थिएनन्।

बालोन डि’ओर भनेको फुटबलमा हात पारेको स्वभाविक सफलतालाई सेलिब्रेट गर्ने किसिमको अवार्ड हो। युरोपियन उपाधि, विश्वकप च्याम्पियन, घरेलु लिगको विजेतालगायत यसका आफ्नै मापदण्ड छन्, आवश्यकता र सिद्धान्तहरु छन्। बालोन डि’ओरको निर्णायक समितिमा पत्रकार, प्रशिक्षक र राष्ट्रिय टिमका कप्तानहरु भएपनि यो अवार्ड उसैले पाउँछ जो खेलमा छाउँछ र खेलप्रेमीको मनमस्तिष्कमा बस्न सफल हुन्छ।

बालोन डि’ओर फुटबलका अवार्डहरुको कोहिनुर हो। यसले पनि आफुजस्तै खेलाडी खोज्छ। फुटबलमा त्यो वर्षको स्टार को हो? कसले आफ्नो सिंगो टिमको प्रतिनिधित्व गर्छ? त्यस वर्षको फुटबलको चर्चा गर्दा कसको नाम र अनुहार टपमा आउँछ?

बालोन डि’ओरको इतिहास हेर्ने हो भने अधिकांश समय सो अवार्ड कसले जित्ला भनेर धेरै अनुमान र आँकलन आवश्यक रहेको देखिदैन। लगभग सबैलाई धेरै पहिल्यै थाहा भइसक्छ कसले जित्नेछ भनेर।

र, फुटबलका अवार्डहरुको भिडमा बालोन डि’ओर सबैभन्दा प्रतिष्ठित बन्नुको कारण पनि यही हो। बालोन डि’ओर जित्नका लागि वर्षभर ठूला प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेर फुटबलको पयार्य बन्दै यसरी अधिपत्य जमाउन सक्नुपर्छ कि कसले जित्ला भन्ने प्रश्न, सन्देह केही बाँकी नै नरहोस्।

तर, नेमारका लागि त्यस्तो कहिल्यै सम्भव भएन। मेसी र रोनाल्डो खेलिरहेका बेला उनले कहिल्यै दुईजना त के दुईमध्ये एकलाई पनि उछिन्न सकेनन्। बार्सिलोनामा रहेर मेसीसँगै खेल्दा उनले बालोन डि’ओर जित्ने वातावरण नै थिएन।

पिएसजी ट्रान्सफरको ब्याकफायर

बार्सिलोना छाडेर नेमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन गए। इतिहासकै सबैभन्दा महंगो खेलाडी बन्दै फ्रान्स गएका नेमारलाई धेरैले मेसीको छायाबाट उम्किदै बालोन डि’ओर जित्नका लागि बार्सा छाडेको आरोप लगाए। तर, पिएसजी ट्रान्सफरले पनि उनी र बालोन डि’ओरबीचको दूरी छोट्याउन सकेन।

अपेक्षा गरिएभन्दा उल्टो काम गर्दै पिएसजी ट्रान्सफरले उनलाई बालोन डि’ओरभन्दा झन् टाढा पुर्यायो। प्रथमतः बार्सा छाडेसँगै उनी एल क्लासिकोजस्तो विश्वकै ध्यानाकर्षित गर्ने प्रतिस्पर्धाबाट विमुख भए। रोनाल्डो रियल मड्रिडमा र मेसी बार्सिलोनामा भएको बेला ‘एल क्लासिको’मा फुटबलको दुनियाँ दुई ध्रुवमा बाँडिन्थ्यो।

त्यसबेला युरोपको सबैभन्दा चर्चित र महत्वपूर्ण च्याम्पियन्स लिग फाइनलभन्दा एल क्लासिको धेरैले हेर्ने गरेको तथ्यांक छ। तर, पिएसजी ट्रान्सफरले नेमारलाई व्यावसायीक फुटबलको सेलिब्रेटेड र धेरै हेरिने प्रतिस्पर्धाबाट विमुख गरायो।

साथै, फ्रेन्च लिग युरोपका शीर्ष लिगहरुमा सबैभन्दा तल्लो स्तरको मानिन्छ। यस सिजनको सुरुवातबाट त फ्रान्सको शीर्ष डिभिजन लिग वान युरोपको शीर्ष पाँच लिगभित्र पर्न समेत असफल भएको थियो।

ला लिगाजस्तो प्रतिस्पर्धात्मक र विश्वको ध्यानाकर्षण गर्ने स्तरीय लिग छाडेर कमजोर र खासै प्रतिस्पर्धा नहुने फ्रेन्च लिग जाँदा नेमारको क्षमतामै पनि विभिन्न प्रश्नहरु उठे। क्षमता भएको खेलाडी प्रतिस्पर्धात्मक ठाउँमा रहेर आफ्नो प्रतिभा निखारेर अझ कुशल खेलाडी बन्न अग्रसर हुने धेरैको तर्क थियो।

चोट र खेल समय पनि वाधक

तर, ला लिगा छाडेर लिग वान जानु मात्र कारक भने होइन। नेमार कीर्तिमानी मूल्यमा फ्रान्स गएको ४ वर्षभन्दा बढी भयो। यो समयमा उनले कम प्रतिस्पर्धात्मक मानिने फ्रेन्च फुटबलमा पनि राज गर्न सकेनन्।

निःसन्देह नेमार फ्रेन्च लिगका सबैभन्दा प्रतिभाशाली खेलाडी हुन्। तर, चोटका कारण उनले धेरै खेल गुमाएका छन्। खेल कम खेलेपछि तथ्यांक र प्रदर्शन दुवै खस्किनु स्वभाविक हो।

पिएसजी गएपछि सुरुका तीन सिजन लिग वानमा उनले औसतमा वार्षिक १७.३ खेलमात्र खेलेका थिए। उनले सबै प्रतियोगिता जोडेर एक सिजनमा ३० खेलभन्दा बढी कहिल्यै खेलेका छैनन्। यसले उनको प्रदर्शनको आँकडा खुम्च्याउनुका साथै मेसी र रोनाल्डोविरुद्धको प्रतिस्पर्धामा सधैं दुई कदम पछाडी रहन वाध्य बनाएको छ।

विश्वकप २०१४

विश्वकप २०१४ ब्राजिलमै भएको थियो। त्यसलाई धेरैले विश्वफुटबलका राजकुमार नेमारको राज्यारोहणको अवसरका रुपमा हेरेका थिए। आफ्नै देशमा घरेलु समर्थकमाझ ब्राजिललाई विश्वकप जिताएर ‘श्रीपेचबिनाका राजकुमार’ नेमारले अन्ततः श्रीपेच पहिरिने सबैको आँकलन थियो।

तर, सो विश्वकपले झण्डै उनको खेल जीवनकै अवसान गरिदियो। कोलम्बियाविरुद्धको खेलमा निकै खतरनाक चोट बेहोर्दै उनले बीचमै खेलमात्र छाडेनन्, विश्वकपका बाँकी खेल पनि गुमाउन वाध्य भए।

२०१४ मा सबैथोक नयेमारको पक्षमा थियो– घरेलु भूमी, आफ्नो उत्कृष्ट फर्म, ब्राजिल टिमकै उत्कृष्ट फर्म, अनि विश्वकप। तर, नेमारको मेरुदण्डमा लागेको त्यो घातक चोटले सबैथोक बदलिदियो। त्यसले नबदलेको चिज केबल एउटै मात्र छ– नेमारको क्षमता र उपलब्धि माथिको प्रश्न!

मैदानबाहिरको जीवनशैली

३३ र ३५ वर्षको उमेरमा पनि रोनाल्डो र मेसी सिजनमा ४० देखि ६० खेलसम्म खेलिरहेका छन्। तर, नेमारले न संख्यात्मक रुपमा उनीहरुसँग बराबरी गर्न सके न त गुणात्मक रुपमै।

उनले पत्रिकाहरुको ‘खेल पृष्ठ’भन्दा ‘गसिप’ पृष्ठमा बढी उपस्थिति जनाएका छन्। रातभर चल्ने बर्थडे पार्टी, हप्तैपिच्छे चल्ने विभिन्न पार्टी, खेलै छाडेर ब्राजिल गएको गयै गर्नुपर्ने बानी।

पेरिसमा पछिल्लो समय ‘फुटबल र आफ्नो क्षमतालाई गम्भिरतापूर्वक नलिने फुटबलर’का रुपमा नेमारको छवि बनिरहेको छ। केही समययता नेमार फुटबलको दुनियाँमा प्रख्यातभन्दा बढी कुख्यात भइरहेका छन्।

नेमार आफ्नो क्षमतालाई हल्का रुपमा लिने पहिलो फुटबलर होइनन्। उनी फुटबलप्रति गम्भिर नहुने पहिलो ब्राजिलियन समेत होइनन्। यो मामलामा उनीभन्दा गैरजिम्मेवार थिए, रोनाल्डिन्हो। उनी आफ्नो करियर र क्षमता दुवैलाई गम्भिरतापूर्वक नलिएर पनि बालोन डि’ओर जित्न सफल अन्तिम खेलाडी हुन्।

तर, पछिल्ला १६ वर्षमा फुटबल फेरिएको छ। प्रतिस्पर्धा चुलिएको छ। विश्वको उत्कृष्ट खेलाडी बन्न अब लरतरो पाराले हुँदैन। हरेक दिन आफुलाई निखार्दै लानुपर्छ, दत्तचित्त भएर खेलमै केन्द्रीत रहनुपर्छ र आफुलाई अझै अब्बल बनाउँदै लाने दृढ संकल्प र खेलको हरेक मिनेट मैदानमै रहेर आफुलाई साबित गरिरहनुपर्छ। यी सबै विशेषण सुन्दा मेसी र रोनाल्डोको झझल्को आउँछ। तर नेमारसँग कुनैपनि मिल्दैननन्।

केलियन एम्बाप्पे

पछिल्ला चार वर्षमा रोनाल्डो र मेसीपछि नेमारका लागि सबैभन्दा ठूलो चुनौती बनेर आएका छन् केलियन एम्बाप्पे। एम्बाप्पे पेरिसको क्लबका लागि खेल्ने ‘लोकल’ खेलाडी हुन्। २०१८ मा उनले उत्कष्ट प्रदर्शन गर्दै फ्रान्सलाई विश्वकप नै जिताएका थिए।

उनी पिएसजीका निर्विवाद हिरो हुन्। बार्सा छाडेर पिएसजीको ‘हिरो’ बन्न आएका नेमार पछिल्लो समय ‘साइड हिरो’मा घटुवा हुने खतरामा थिए। एम्बाप्पे युवा खेलाडी हुन् र सामाजिक छविका बारेमा पनि सजग छन्। साथै, उनको खेल्ने शैली पनि गोल–केन्द्रीत छ। आधुनिक फुटबलको फरवार्डमा हुनुपर्ने र खोजिने खेलकौशल र क्षमता उनमा प्रचुर छ। यसले उनलाई तथ्यांक र प्रदर्शन सबै मापकमा खरो उत्रिन सहयोग गर्छ।

उनले हासिल गरेका यी तमाम उपलब्धि र उनको खेल्ने शैली बालोन डि’ओर भोटिङको मापदण्डमा ठ्याक्कै फिट हुन्छ। जसले नेमारलाई पिएसजीमा पनि मुख्य भूमिकामा देखिन समस्या भइरह्यो।

तर, जारी सिजनको अन्त्यसँगै एम्बाप्पेको पिएसजीसँगको सम्झौता सकिनेछ र उनी स्पेनिस जाइन्ट रियल मड्रिडमा आबद्ध हुने सम्भावना बढेको छ। एम्बाप्पेले पिएसजी छाडेपनि नेमारले ‘हिरो’को रोल पाउने सम्भावना भने कम नै छ। किनकी यही सिजन बार्सा छाडेर लियोनल मेसी पिएसजी आएका छन्।

एम्बाप्पेले पिएसजी छाडेर रियल गएभने युरोपियन फुटबलको झनै प्रभावशाली खेलाडी बन्ने सम्भावना राख्छन्। त्यसैले पिएसजी छाड्दैमा विश्वको उत्कृष्ट बन्ने होडमा एम्बाप्पेले नेमारलाई दिइरहेको चुनौती सकिँदैन।

रोनाल्डो र मेसी करियरको अन्त्यतिर आइपुग्दा अन्य थुप्रै क्षमतावान युवा खेलाडी उदाइसकेका छन्। एर्लिङ हालान्ड र एम्बाप्पेबीचको प्रतिस्पर्धाले आगामी दिनमा फुटबलको रौनक बढाउने निश्चितजस्तै छ। जाओ फिलिक्स, जेडन सान्चो, अन्सु फाती, भिनिसियस जुनियरलगायत थुप्रै युवा खेलाडीले विश्वको उत्कृष्ट खेलाडी बन्ने रेस सुरु गरिसकेका छन्।

यसले नेमारलाई जति चुनौती दिएको छ, त्योभन्दा बढी एक्लो पनि बनाएको छ। नेमार फुटबलका दुई युगको बीचका खेलाडी हुन्। रोनाल्डो र मेसीको युग तथा एम्बाप्पे र हालान्डलगायतको युगका बीचमा नेमार एक्लिएका छन्।

नेमार फुटबलका स्टार खेलाडी हुन्, यसमा दुईमत छैन। उनको स्किल र खेल हेर्दा बिछट्टै आनन्द आउँछ। उनी अत्यन्तै सुन्दर फुटबल खेल्छन्। ब्राजिलको सुन्दर फुटबलको ज्वलन्त उदाहरण हुन् नेमार। र, आधुनिक फुटबलले पाएको उत्कृष्ट खेलाडी।

तर, उनी विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा कसैलाई चुनौती दिनसक्ने खेलाडी भने होइनन्। न आफुभन्दा पहिलेका खेलाडीलाई, न त आफुभन्दा पछि आएकालाई। फुटबलमा उनको स्थान बेग्लै छ। अफसोच, शीर्षस्थानमा हुन सकेन।

Facebook Comments Box