गोल गर्दै उपाधि जित्ने नेपालको लक्ष्य

त्रिदेशीय कपको फाइनलमा बंगलादेशविरुछ गोल गर्दै उपाधि जित्ने लक्ष्य नेपालले बनाएको छ । फाइनलअघि भएको प्रिम्याच कन्फ्रेन्मा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले त्रिदेशीय कपको फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताए।

समूह चरणमा कीर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग खेलेको नेपालले गोल गर्न सकेको छैन । गोल गर्न नसक्नु नेपाली टोलीको अहिलेको मात्र कमजोरी होइन । त्यसैले भोलि फाइनल खेल्दा पनि नेपालका लागि पहिलो उद्देश्य विपक्षीको पोष्टमा गोल गर्नु नै हुनेछ ।

‘हामीले सोचे अनुसार खेलिरहेका छौं, तर गोल गर्न सकेका छैनौं,’ मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘भोलिको हाम्रो मुख्य लक्ष्य गोल गर्नु हुनेछ ।’

समूह चरणको दुबै खेलमा एउटै प्लेइङ सेट उतारेका महर्जनले भोलि परिवर्तन गर्ने संकेत पनि दिएका छन् । नेपालका कप्तान किरण चेम्जोङले पनि फाइनलमा फरवार्डले पनि राम्रो खेल्ने आशा व्यक्त गरे ।

बंगलादेशका कप्तान जेम्स डेले घरेलु टोलीविरुद्ध हुने फाइनल प्रतिस्पर्धात्मक हुने बताए । जुनमा हुने विश्वकप छनोट र सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपको तयारीका क्रममा यो प्रतियोगिता खेलेको र फाइनलमा पुग्नु उपलब्धी भएको बताए । उनले फाइनल खेलमा दर्शकको साथ घरेलु टोलीका लागि एड्भान्टेज बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.