बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय कप

नेपालले त्रिदेशीय कप फुटबल उपाधि जितेको छ । सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको फाइलनमा बंगलादेशलाई २–१ले पराजित गर्दै नेपाली राष्ट्रिय टिमले पाँचौं उपाधिका रुपमा त्रिदेशीय कप जितेको हो।

नेपाललाई पाँचौं उपाधि दिलाउन संजोग राई र विशाल राईले गोल गरे भने बंगलादेशका महबुर रहमानले गोल गरेका थिए । नेपालले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा गरेको थियो।

नेपाली राष्ट्रिय टिमले जितेको यो पाँचौं अन्तर्राष्ट्रिय उपाधि हो। यसअघि नेपालले सन् १९८४ र १९९३ मा साग गेममा स्वर्ण जितेको थियो भने सन् २०१६मै बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिडी कप उपाधि जितेको थियो ।

बंगलादेशविरुद्धको फाइनलमा मुख प्रशिक्षक बालगोपाल महर्जनले प्लेइङ सेटमा २ परिवर्तन गरेका थिए । उनले रविशंकर पासवान र अभिषेक रिजालको स्थानमा विशाल राई र सुनिल बललाई सुरुवाती ११मा राखेका थिए ।

नेपालले सुरुवातदेखि नै आक्रामक खेल खेल्दै बंगलादेशविरुद्ध दबाब बनाएको थियो । खेलको १७औं मिनेटमा सुनिल बलको क्रममा अनन्त तामाङमा पावरफुल हेडिङ बंगलादेशका किपरले पन्च गर्दै उत्कृष्ट बचाउ गरेका थिए ।

सोही कर्नर सुनिल बलले प्रहार गरे । डिफ्लेक्ट भएर आएको बललाई डिबक्मा अनमार्क रहेका संजोगले १८औं मिनेटमा पोस्टको दिशा दिए। र, नेपाललाई सुरुवाती अग्रता दिलाए। यो गोलसँगै नेपालल ८ खेल लामो गोलबिहीन यात्रालाई टुंग्याएको छ ।

सन् २०१९मा भएको विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्ध गोल गरेपछि लगतार ८ खेलमा नेपाल गोलबिहीन थियो।

यता, संजोग राई डेब्यू गरेको तेस्रो खेलमै गोल गर्न सफल भए। संजोगले त्रिदेशीय कपमै कीर्गिस्तानविरुद्ध गर्दै नेपाली राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनी त्रिदेशीय कपका तीन वटै खेलमा सुरुआती ११मा परेका थिए।

त्यसपछि पनि नेपालले बंलादेशमाथि निरन्तार दबाब दियो। ३० मिनेटमा अन्जन विष्ट वान टु वानमा गो गर्न असफल भए । उनले बंगलादेशी किपरको माथि चिप गरेको बल पोष्टको थोरैमाथिबाट बाहिरियो।

४२औं मिनेटमा रञ्जित धिमालले दिएको पासमा विशाल राईले गोल गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । यो विशालको राष्ट्रिय टिमका लागि चौथो गोल हो । लगत्तै नेपालले अर्को सुनौलो अवसर खेर फाल्यो। सुनल बलको फ्रिकिकमा अनमार्क रहेका अनन्तको हेडिङले पोस्टको दिशा लिन सकेन।

पहिलो हाफमा दबाबमा खेलेको बंगलादेशले दोस्रो हाफमा बंगलादेशले नेपाली पोस्टमा आक्रमण गरेको थियो। ६७ औं मिनेटमा बंगलादेशका यासिन अराफातको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ८३ औं मिनेटमा महबुर रहमानले गोल गर्दै खेल २–१ को स्थितिमा पुर्‍याए । उनले कप्तान जमन भुएनको कर्नरमा उत्कृष्ट हेडर गोल गरेका थिए ।

त्यसपछि खेलमा कुनै गोल भएन र नेपालले पाँचौं उपाधि जित्यो । च्याम्पियन बनेको नेपालले ५ हजार अमेरिकी पायो भने उपविजेता बंगलादेशले ३ हजार डलर पायो ।

प्रतियोगितामा मेनडिफेन्स खेलेका मिडफिल्डर रोहित चन्द प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बने भने संजोग राई म्यान अफ दी बने।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.