थ्री स्टारलाई हराउँदै मनाङ शीर्ष स्थानमा

चिरपरिचत प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै मनाङले ३ खेलबाट ९ अंक बनाएको छ भने थ्री स्टारको ६ अंक मात्र छ । बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेल मनाङले बलियो प्रतिद्वन्द्वी थ्री स्टारलाई २–१ ले पराजित गरेको हो ।

आफ्ना मुख्य खेलाडीहरु सुजल श्रेष्ठ, प्रकाश बुढाथोकी र ओलावाले हाफिज विना नै मैदानमा उत्रिएको मनाङलाई जित दिलाउन अञ्जन विष्ट एक गोल गरे भने अर्काे गोल थ्री स्टारले आत्मघाती गरेको थियो ।

खेलमा मनाङले ११ औं मिनेटमा अग्रता लियो । मैदानको मध्य भागबाट हेमन गुरुङले निकालेको सटिक पासमा अन्जन विष्टले डिफेन्डर रन्जित धिमाललाई कटाएर दोस्रो बारमा गोल गर्दै मनाङलाई सुरुवाति अग्रता दिलाएका थिए ।

यसैगरुी १८ मिनेटमा मनाङले अग्रतालाई दोब्बर बनायो । थ्री स्टारका गोलकिपर एलन न्यौपानेले डिबक्स भित्रबाट बल क्लियर गर्ने क्रममा हानेको प्रहार आफ्नै साथी विजय धिमालको ढाँडमा लागेर फर्किएको बल गोल भएको थियो ।

पहिलो हाफको सुरुवात मै २–० ले पछि परेपछि थ्री स्टारले दोस्रो हाफमा भने मङलाई दबाबमा राख्यो । २२ मिनेटमा थ्री स्टारका विजय धिमालले डिबक्सबाट हानेको कडा प्रहारले गोलपोस्टको दिशा लिन सकेन । पहिलो हाफ सकिन ३ मिनेट बाँकी छदा थ्री स्टारले गोल गर्ने सुनौलो मौका गुमाएको थियो । बुद्ध चेम्जोङले डिबक्सभित्रबाट दोस्रो बार च्यापेर हानेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

दोस्रो हाफमा पनि थ्रीस्टारले लगातार आक्रमण गरेको थियो । खेलमा ८४ औं मिनेटमा थ्री स्टारले पेनाल्टी पायो । मनाङका डिफेन्डर मोहमद आसिफले थ्री स्टारका फरवार्ड अजयी मार्टिनलाई फल गरेपछि प्राप्त पेनाल्टीमा रन्जित धिमालले गोल गर्दै अग्रता घटाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन, र खेल मनाङले २–१ ले जित्यो ।

हारपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले मनाङविरुद्धको हारले उपाधि अभियानलाई फरक नपर्ने बताए । उनले भने, ‘हामी भर्खर तेस्रो खेल खेल्दै छौँ । अझै धेरै खेल बाँकी छ, त्यसैले मनाङसँग पराजित हुँदैमा कुनै असर पर्दैन ।’

यस्तै मनाङका प्रशिक्षक सुमन श्रेष्ठले थ्री स्टारविरुद्धको जित महत्वपूर्ण भएको भन्दै अग्रतालाई जोगाउन सबै खेलाडीले मेहेनत गरेको बताए । उनले थ्री स्टारविरुद्ध केही रणनीति परिर्वतन गर्दा जित सम्भव भएको भन्दै बाँकी खेल पनि चुनौतीपूर्ण रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *