क्रुसले जोगाए जिदानलाई

जर्मन मिडफिल्ड टोनी क्रुसले पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा स्पेनिस जाइन्ट रियल मड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा पहिलो जित निकालेको छ । टर्किस क्लब गालातासारेको मैदानमा भएको खेलको १८ मिनेटमा क्रुस गोल गरेका थिए, सोही खेलको निर्णायक गोल बन्यो ।

क्रुसको सोही गोलले रियलका प्रशिक्षक जिनेदिन जिदानको पद भने जोगाएको थियो । निरन्तरण खराब प्रदर्शन गरिरहेको रियल मंगालबार रातिको खेलमा गालातासारेसँग पनि पराजित भएको भए जिदान बर्खास्त पर्न सक्थे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा गालातासारेसँग रियल हारे जिदान बर्खास्त हुन सक्ने समाचार आएको थियो ।

दोस्रो पटक प्रशिक्षकमा रुपमा जिदान रियल आएपछि क्लबले राम्रो खेल्न सकिरहेको छैन । रियल गतसाता नवप्रवेशसी क्लब रियल मालोर्कासँग १–०ले पराजित भएको थियो । यस्तै, च्याम्पियन्स लिगको पहिलो खेलमा पिएसजीसँग ३–०को नमीठो हार बेहोरेको थियो ।

मंगलबा राति भएको खेलमा रियलले १८औं मिनेटमा अग्रता लिएको थियो । उसका क्रुसले इडेन हाजार्डको पासमा गोल गरेका थिए । एक गोलले पछि परेको अवस्थामा पनि गालातासारेले बल पोजेसन राम्रो बनाउँदै रियललाई दबाब दिएको थियो । तर, गोल भने गर्न सकेन ।

खेलमा गालातारसारेले ५६ प्रतिशत बल पोजेसन बनाएको थियो । तर, रियलले उसको पोस्टमा २ दर्जनभन्दा बढी आक्रमण गरेको थियो । जसमध्ये १२ अन टार्गेट थियो । गालातासारेले भने ११ सट प्रहार गर्दा ३ सटमा मात्र फ्रेममा थियो ।

यो साँघुरो जितसँगै रियलले च्यम्पियन्स लिगमा तीन खेलको जितबिहीन यात्रालाई पूर्ण विराम लगाएको छ । अघिल्लो सिजन अन्तिम १६ मा आयाक्ससँग पराजित भएयता रियल जितबिहीन थियो ।

पहिलो जित निकलोको रियलले समूह एमा ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । यो समूहमा शतप्रतिशत नतिजासहित ९ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । क्लब बुर्गको २ अंक छ भने गालातासारेको १ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *