चलेन मेसी, नेमार र एम्बाप्पेकाे जादु, क्लब ब्रुगसँग रोकियो पिएसजी

स्टार खेलाडीले भरिएको फ्रेन्च क्लब पिएसजीले च्याम्पियन्स लिगमा खराब सुरुआत गरेको छ। विश्वकै उत्कृष्ट तीन खेलाडी लियोनल मेसी, नेमार र किलियन एम्बाप्पे मैदानमा उत्रिएको खेलमा पिएसजी बेल्जियन क्लब क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकियो ।

सुरुआतमा लिएको अग्रता जोगाउन नसक्दा पिएसजी अंक बाँड्न बाध्य भयो। १५औं मिनेमा आन्द्रे हेरेराले गोल गर्दै पिएसजीलाई सुरुआती अग्रता दिलाए । उनले केलियन एम्बाप्पेको पासमा हेरेराले गोल गरेका थिए। घरेलु टोली क्लब ब्रुगका लागि हन्स भानाकेनले २७औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

खेलमा बल पोजेसन राम्रो बनाए पनि पिएसजी ब्रुगको पोस्टमा उल्लेख्य आक्रमण गर्न सकेन । उसले ९ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो। यता, ब्रुगले घरेलु मैदानमा १४ सट प्रहार गरेको थियो, जसमध्ये ७ सट फ्रेममा थियो।

यसैगरी अर्को खेलमा डच क्लब आयाक्सले सहज जित निकाल्यो । उसले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमाथि ५–१को जित निकाल्यो। आयाक्सका सेवास्टियन हालेरले ४ गोल गरे भने स्टेफन बेर्गुइसले अर्को गोल गरे । स्पोर्टिङका पाउलिन्होले गोल गरेका थिए।

Facebook Comments Box